May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

भूकम्पले भत्किएका गुम्बाको पुनःनिर्माण शुरु

तनहुँ । २०७२ वैशाखको महाभूकम्पले क्षतिग्रस्त भएको तनहुँको भानु नगरपालिका–९ स्थित उर्गेन छोइलिङ गुम्बा पुनःनिर्माण शुरु गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अनुदान सहयोगमा भूकम्पले भत्किएको सो गुम्बाको पुनःनिर्माण शुरु गरिएको हो ।

Advertisement

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँका प्रमुख जयप्रकाश गुप्ताले तनहुँमा दुईवटा गुम्बा पुनःनिर्माणका लागि सम्झौता भएकामा एउटाको काम शुरु भएको र अर्को गुम्बाको पनि काम शुरु गर्न ताकेता गरिएको जानकारी दिए । उनका अनुसार उक्त गुम्बा असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद तोकिएको छ ।

प्राधिकरणले भानु नगरपालिका–९ स्थित उर्गेन छोइलिङ गुम्बा र भानु नगरपालिका–२ स्थित बुद्ध हिमाली तमु समान गुम्बा पुनःनिर्माणका लागि अनुदान उपलब्ध गराएको छ । ८७ लाख ७३ हजार ६२० को लागतमा दुई गुम्बा पुनःनिर्माण हुन लागेको हो ।

त्यसका लागि पुनःनिर्माण प्राधिकरणले ६० लाख ८५ हजार ७४ अनुदान उपलब्ध गराएको छ भने बाँकी रकम स्थानीय तहले र स्थानीयवासीले जनश्रमदान गर्नुपर्नेछ ।

गुप्ताका अनुसार उर्गेन छोइलिङ गुम्बा ४४ लाख ६६ हजार २० को लागतमा पुनःनिर्माण हुनेछ । त्यसका लागि पुनःनिर्माण प्राधिकरणले ३० लाख ९७ हजार ४७४ उपलब्ध गराएको छ भने भानु नगरपालिकाले एक लाख ५० हजार र स्थानीयवासीले १२ लाख १८ हजार ५४५ बेहोर्नेछन् ।

यस्तै, बुद्धहिमानी तमु समान गुम्बा ४३ लाख सात हजार ६०० को लागतमा पुनःनिर्माण हुन लागेको हो । त्यसका लागि पुनःनिर्माण प्राधिकरणले २९ लाख ८७ हजार ६०० उपलब्ध गराएको छ भने भानु नगरपालिकाले एक लाख ५० हजार र स्थानीयवासीले ११ लाख ७० हजार बेहोर्नेछन् ।

रासस