May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

छोग्लिङ् रिन्पोछेको ‘परिनिर्वाण’

गूरु रिन्पोछे गुफामा गत १८ डिसेम्बरमा अचम्मका चिन्ह देखिए । गुफामा अमृत वर्षा भयो । आकाशले आफ्नो रंग फेर्यो । निलो भइरहेको आकाश एक्कासी सुन्दर गेरु रंगमा सजियो । लगत्तै इन्द्रेणीले त्यो सुन्दरतालाई दोब्बर बनाइदियो । त्यो दिन थियो, गुरु छोग्लिङ् देवे दोर्जेको परिनिर्वाणको ।

Advertisement

प्रकृतिले यस्तै अद्भुत लक्षणहरु सन् १९५३ मा तिब्बतको आकाशमा पनि देखाएको थियो । त्यो दिन गुरु छोग्लिङ्को जन्म भएको थियो । छोग्लिङ् रिन्पोछो निर्वाण कायामा प्रवेश गरेको दिन र पर निर्वाणमा लीन भएको दुवै दिनलाई प्रकृतिले अद्भुत रुपमा स्वागत गरेको थियो ।

छोग्लिङ् रिन्पोछे मिग्युर देवे दोर्जे पाल स्हाङ्पो सन् १९५३ तदनुसार सत्रौं प्रभवको जल सर्पमा जन्मनु भएको थियो । टुल्कु उर्गेन रिन्पोछे र कुन्साङ देछेनको पुत्रका रुपमा जन्मिनुभएका छोग्लिङ् रिन्पोछेलाई ग्याल्वाङ कर्मापा रिग्पे दोर्जेले छोग्ग्युर लिङ्पाको निर्वाण कायाको रुपमा पहिचान गर्नुभएको थियो ।

वहाँले १० वर्षको उमेरमा रुम्तेग शेडुवा छोखोर लिङ गोन्पामा प्रवेश गरी अक्षर लेखन, पाठ, वाद्यवादन, मण्डल लेखन, लय आदि सिकेर निपूर्णता हासिल गर्नुभएको थियो । त्यसपछि वहाँले सद्धर्म विनय, अभिधर्मकोष, अभिधर्म समुच्चय, मध्यमकशास्त्र, मध्यमकावतार, चतुःशतक, प्रमाणशास्त्र, मैत्रेयका पाँच शास्त्र लगायतका लक्षणयानका ग्रन्थहरुको अध्ययन पूरा गर्नुभएको थियो ।

विशेषतः वहाँले हेवज्र तन्त्र, उत्तरतन्त्र, गम्भीर आभ्यन्तर अर्थ, ज्ञेयकोष मूल र भाष्य जस्ता गुह्य मन्त्रयानका ग्रन्थहरुको पनि पूर्ण अध्ययन गर्नुभएको थियो ।

ग्याल्वाङ कर्मापा रिग्पे दोर्जेले छोग्लिङ् रिन्पोछेलाई छोग्ग्युर लिङ्पाको निर्वाण कायाका रुपमा पहिचान गरेसँगै वहाँलाई चार महान कोशहरु तथा काम्छाङ काग्यु परम्पराका सम्पूर्ण उपदेशहरु पनि प्रदान गर्नुभएको थियो । यस्तै, वहाँलाई दुझ्योम रिन्पोछे जिग्ढाल येशे दोर्जेले दुवै दोझ्योम तेर्सारका निधि धर्म तथा उपदेशहरु प्रदान गर्नु भयो ।

वहाँले दिल्गो ख्येन्चे रिन्पोछे ग्युर्मे थेग्छोग तेन्पे ग्याल्छेन पाल साङ्पोबाट रिन्छेन तेर्जो छेन्पोलगायत दीर्घ परम्परा (कामा) तथा नयाँ र पूराना विभिन्न निधिहरुका साथै पूर्व निर्वाणकाया छोग्ग्युर देछेन लिङ्पाका विपाक गराउने अभिषेक, मुक्त गराउने उपदेश तथा आड लगाउने आगमहरु प्राप्त गर्नुभएको थियो । यसका साथै वहाँले टुल्कु उर्गेन रिन्पोछेबाट पूर्वानुवादका कामा तथा तेर्माहरुमा विभिन्न अभिषेक र उपदेशका साथै विशेषतः महासन्धिका बाहिरी, भित्री तथा गुह्य उपदेशहरु पनि पूर्ण रुपमा प्राप्त गर्नुभयो ।

त्यसपछि वहाँलाई दिल्गो खेन्जे रिन्पोछेले भविष्यको परिस्थितिलाई विचार गरी गम्भीर मार्ग वज्रयानको महागुह्य उपहेतु चर्यामा भरपर्नु आवश्यक छ भनेर आज्ञा भएको थियो । जस अनुसार वहाँले शुभ सगुनको अवस्थामा सहज ज्ञान साक्षात्कार गरी सिद्ध विद्याधरहरुको मतमा अभेद रही अनायास अनाभोग योग अवस्था सदा कायम राख्नु भयो ।

यसका साथै, वहाँले सन् १९९२ मा आफ्नो गोन्पा पाल कान्यिङ शेडुव लि शेडुव लिङमा परहीत कर्मको विषयमा, सन् १९९६ मा भेन्छेन धार्गे लिङ र सन् २०१० मा भारतको दिल्लीमा पाल ग्याल्वाङ कर्मापा ठिन्ले थाये दोर्जेलाई गरी तीनपटक छोग्लिङ तेर्सारको अभिषेक तथा आगमहरु प्रदान गर्नुभएको थियो ।

महानिधि प्रकाशक छोग्ग्यूर लिङ्पाको धर्कशासनलाई पुनरुत्थान तथा कायम गर्न रिन्पोछेको विशेष योगदान रह्यो । वहाँले विशेषतः नेपालीहरुलाई अभिषेक, आगम र उपदेश प्रदान गरी अतुलनीय हीत गर्नुभएको छ भने मलेसिया, सिंगापुरलगायतका देशमा पनि भ्रमण गरेर र धर्म केन्द्रहरु स्थापना गरेर सद्धर्मको प्रचार गर्नुभएको छ ।

तर, सन् २०१७ मा भने वहाँको देह अस्वस्थ भयो । धर्मपत्नी देछेन पालडोनका साथ दुवै छोरा र दुवै छोरीका साथ दाजु छोक्यी न्यीमा रिन्पोछेले वहाँलाई उपचारका लागि सिंगापुरको अस्पतालमा लैजानु भएको थियो । तर, ३ वर्ष लामो उपचार र पूजाप्रार्थनाका बावजुद वहाँ १८ डिसेम्बर २०२० को दिन बिहान १० बजेर १२ मिनेटमा दिवंगत हुनुभएको थियो । वहाँ परिनिर्वाणमा जानु भएकाे थियाे ।

त्यसपछि वहाँ ७ दिनसम्म मृत्यु प्रभाश्वर समाधि (थुग्दाम) मा अचल रहनु भएको थियो । जनवरी ३ तारिखमा वहाँका थुप्रै स्वदेशी तथा विदेशी चेलाहरुले भव्य स्वागत कार्यक्रम गरि गोन्पा कान्यीङ शेडुव लिङमा पार्थिव शरीरको आमन्त्रण गरे ।

वहाँको पार्थिव शरीरलाई १० जनवरी २०२० अर्थात् २६ पुस २०७७ मा काठमाडौं ल्याउने तयारी रहेको लोचवा पूण्यप्रसाद पराजुलीले जानकारी दिनुभएको छ ।