April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

मंगलबार गणेश भगवानको पूजा कसरी गर्ने ? कुन मन्त्र जप्ने ?

🙏 ॐ श्री गणेशाय नमः 🙏

गणेश भगवानको पूजा भनेको कुनै पनि धार्मिक कर्मको आधिकारिक सुरुवात हो । सुरुमा गणेश भगवानको पूजा नगरि अरु भगवानको पूजा गरेमा त्यो पूजा असफल हुन्छ । पूजा मात्र होइन, कुनैपनि काम वा यात्राको सुरुवात गर्दा पनि गणेश भगवानलाई सम्झिने हाम्रो धार्मिक संस्कार छ ।

Advertisement

त्यसैले, जस्तै ठूलो पूजाआजा वा पूराण नै किन नहोस्, हरेक धार्मिक अनुष्ठानको सुरुवात गणेश भगवानकै पूजाबाट गरिन्छ । अन्य भगवानबाट आशिर्वाद पाउन समेत पूज्नु पर्ने गणेश भगवानको किर्ती हाम्रा सबै धर्मग्रन्थहरुले यथेष्ट रुपमा बयान गरेका छन् । हामीले साताका अन्य दिनमा गर्ने धार्मिक अनुष्ठान वा अरु भगवानको आराधानाको प्रतिफल पाउन पनि मंगलबार गणेश भगवानको पूजा नगरि हुँदैन ।

मंगलबार भनेको मंगल ग्रहलाई समर्पित दिन हो । हिन्दु धर्ममा मंगल ग्रहलाई ज्ञान, बुद्धि, विवेक र आर्थिक सम्पन्नताको प्रतिकका रुपमा लिइन्छ । त्यसैले, मंगलबारको दिन भगवान गणेशको पूजा तथा आराधाना गर्नाले शुभमंगल फल प्राप्त हुने विश्वास गरिन्छ ।

यस्तै, मंगल ग्रहलाई मानव जीवनमा आउने अनेक समस्याका निर्माता तथा कारक पनि मानिन्छ जसको असरबाट बच्नलाई पनि सो दिन शुभलाभका प्रतिक मानिने श्री गणेश भगवानको पूजा गरिएको हो । मंगलबार गणेश भगवानको पूजा गर्नाले जिन्दगीभर सुखद् फल प्राप्त हुने धार्मिक विश्वास रहीआएको छ ।

पूजा विधिः

  • यदि तपाई गणेश भगवानलाई खुसी बनाएर शुभ फल प्राप्त गर्न चाहनुहुन्छ भने बिहानै नुहाएर वा सफाचोखो भएर, सफा लुगा लगाएर नजिकैको गणेश मन्दिरमा गएर पूजा गर्नुहोस् । मन्दिर नजाँदा घरमै बनाइएको पूजा कोठा वा पूजा गर्ने स्थानमा गणेशको मूर्ति, फोटो वा कुनै प्रतिमा राखेर पनि पूजा गर्न सकिन्छ ।
  • गणेश भगवानको मनपर्ने भोजन मिठाइ भएकाले सख्खर, चिनीलगायत गुलिया प्रसाद चढाउनु पर्दछ । विधिका लागि फल राखेपनि लड्डु, बर्फी, सख्खर राख्नु उपयुक्त हुन्छ । यदि मिठाइ उपलब्ध नहुँदा चिनि वा मिस्रीलाई नै मिठाइ मान्नुहोला भनेर गणेश भगवानलाई अर्पण गर्नुपर्दछ ।
  • भगवान गणेशको पूजा गर्दा नभई नहुने चिज भनेको घ्यू हो । घ्यू बिनाको पूजा गणेश भगवानले स्वीकार गर्नुहुन्न भनेर शास्त्रमा उल्लेख गरिएको छ । कतिपय अवस्थामा घ्यू नहुँदा तेललाई नै घ्यू मान्नुहोस् भनेर पूजा गर्न सकिन्छ । तर, त्यसले उचित प्रतिफल नपाइने गणेश पूजा विधिमा भनिएको छ । तसर्थ, चिताएको फल पाउन सकेसम्म घ्यू अर्पण गर्नुपर्दछ ।
  • भगवान गणेशलाई रातो रंग मनपर्छ । गणेशको पूजा गर्दा रातो फूल अनिवार्य हुन्छ । रातो फूल बिनाको गणेश पूजा अपूरो हुन्छ ।
  • गणेशलाई मकैको भोग लगाउनु भनेर पनि केही पूजा विधिहरुमा उल्लेख छ । सिजन र उपलब्धता अनुसार चिनी र घ्युमा मकैको परिकार बनाएर प्रसादका रुपमा गणेश भगवालाई अर्पण गर्नु उपयुक्त हुन्छ ।
  • गणेश भगवानलाई पूजा गर्दा बनाइने अक्षतामा अखण्ड चामल मात्रै प्रयोग गर्नुपर्छ । थोरै भएपनि सिंगो चामलको मात्र अक्षता बनाएर पूजा गरेमा मात्र मनोकांक्षा पूरा हुनेछ, अन्यथा जति विधि र विशाल यज्ञ गरेर पूजा गरेपनि गणेश भगवानले सो आराधाना स्वीकार नगर्ने गणेश पूजा विधिमा लेखिएको छ ।
  • गणेश खानाका सौखिन भगवान हुन् । मिठाइको सामान्य प्रसादले दैनिक पूजा सम्पन्न हुने भएपनि व्रत लिएर पूजा गर्दा भने १२ वटा विभिन्न मिठाइ वा परिकारको प्रसाद चढाउनु पर्दछ ।

गणेश पूजाको फल

  • गणेश भगवानलाई घ्यू अर्पण गर्दा उनी प्रसन्न भएर धनधान्यले परिपूर्ण गर्ने विश्वास छ ।
  • गणेश भगवानलाई मिठाइ र मकैको भोग लगाएमा भक्तको घरमा अन्नअनाजको कहिल्यै अभाव हुनेछैन ।
  • रातो फूलको प्रयोगले श्री वृद्धि हुनुका साथै मानमर्यादा पनि बढ्नेछ ।
  • गणेश भगवानलाई सिंगो चामलको अक्षताले पूजा गर्दा आराधना स्वीकार गरिनुका साथै चिताएका कार्य सफल हुनेछन् ।

गणेश भगवानको पूजा गर्दा जप्ने मन्त्रहरुः

  • श्री गणेशाय नमः
  • ॐ श्री गणेशाय नमः
  • गं गणपतये नमः
  • ॐ गं गणपतये नमः
  • ॐ गं ॐ गणाधिपतये नमः
  • ॐ सिद्धि विनायकाय नमः
  • ॐ गजाननाय नमः
  • ॐ एकदन्ताय नमो नमः
  • ॐ लम्बोदराय नमः
  • ॐ वक्रतुंडाय नमो नमः
  • ॐ गणाध्यक्षाय नमः

मंगल ग्रहले मंगलबारको दिनको आफ्नो प्रकोपले लगाएका विभिन्न दोष मेटाउन मंगलबारका साथै बुधबार पनि गणेश भगवानको पूजा गरिन्छ । बुधबार भने व्रत बसेर पूजा गरिरहनु पर्दैन ।

मंगलबार माथि उल्लेखित विधि अनुसार पूजा गरेर बुधबार भने सामान्य विधिले पूजा गर्दा पर्याप्त हुन्छ । बुधबार सुरुमा मंगलमयको कामना गर्दै गणेश भगवानको र त्यसपछि कष्टहरणको आशिर्वाद माग्दै दुर्गा माताको पूजा गर्नुपर्दछ ।