April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन तथा स्वास्थ्य सूचना कार्यक्रम सुरु

काठमाडौं । एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतिक्षित टेलिमेडिसिन तथा स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ ।

Advertisement

एनसेलका सीइओ एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममाझ धुलिखेल अस्पताल अन्तर्गत सञ्चालनमा रहेका ४ वटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गरेका छन् । सोही दिन चोङ् र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले धुलिखेल अस्पतालमा स्थापित एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रका पनि उद्घाटन गरेका थिए ।

प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बञ्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उद्देश्य हो । यस पहलअन्तर्गत एनसेलले धुलिखेल अस्पतालद्वारा ग्रामिण भेगमा सञ्चालन गरिरहेको स्वास्थ्य केन्द्रहरुलाई टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पुर्वाधार निर्माण गरी हस्तान्तरण गर्दैछ ।

धुलिखेल अस्पतालका तर्फबाट मानव संसाधनजस्तै चिकित्सक र परामर्शदाता लगायत कार्यक्रम सञ्चालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान हुँदैछ । अस्पतालले कार्यक्रमलाई सफलता पुर्वक सञ्चालन गर्न आवधिक ट्रेनिङहरु र अनुगमनलगायतका कामहरु पनि गर्नेछ ।

पहिलो चरणमा सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरु मार्फत कार्यक्रम सञ्चालन हुनेछ । यी केन्द्रहरुले कुल १५ हजारभन्दा बढी घरधुरीका जनसमुदायलाई सेवा प्रवाह गर्दछ । कार्यक्रम सञ्चालनमा आएपछि स्थानीयहरुले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको उपचार सेवा पाउनेछन् । अबको चार वर्षमा यो कार्यक्रम २० वा सोभन्दा बढी स्वास्थ्य केन्द्रमा लागू गर्ने एनसेलको योजना रहेको छ ।

कार्यक्रमका बारेमा आफ्नो उत्साह साट्दै एनसेलका सीइओ चोङ्ले स्वास्थ्य क्षेत्र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीमा प्रमुख प्राथमिकतामा रहेको बताए । स्वास्थ्य सेवाबाट वञ्चित समुदायहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने मात्र नभई तत्काल जीवन रक्षा गर्नसक्ने यो कार्यक्रमका लागि धुलिखेल अस्पतालसँग सहकार्य गर्न पाएकोमा उनले खुसी पनि व्यक्त गरेका छन् ।

स्वास्थ्य सेवा केन्द्रहरुले गुणस्तरीय सेवामा स्थानीय समुदायको पहुँच सहज बनाउँदै जीवन रक्षा गर्ने साथै उनीहरुको स्रोत र समय बचत गर्न योगदान गर्ने आशा लिएको पनि उनले बताएका छन् ।

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले प्रविधिको प्रयोगबाट दूरदराजमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यस एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको उद्घाटन एउटा ठूलो उपलब्धि भएको जानकारी दिए । यस परियोजनामा पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पीएचपी) पनि समावेश गरिएकोले यो यस किसीमको पहिलो र नयाँ कार्यक्रम रहेको बताए ।

यो कार्यक्रममा टेलिमेडिसिन र पीएचपी गरी दुई क्षेत्रमा केन्द्रित भई सञ्चालन हुनेछ । टेलिमेडिसिन अन्तर्गत कार्यक्रमले धुलिखेल अस्पतालद्वारा सञ्चालित आठ सामुदायिक स्वास्थ्य केन्द्रहरुबाट आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग तथा अस्पतालका चिकित्सक तथा विज्ञहरुसँग सिधै सम्पर्क स्थापित गराई स्थानीय जन समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

पीएचपीअन्तर्गतका कार्यक्रम सञ्चालन भएका क्षेत्रका जनसमुदायका स्थानीयहरुले पर्सनलाइज्ड स्वास्थ्य सेवा पाउनेछन् । जसका लागि सामुदायिक स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानीय मानिसहरुको स्वास्थ्य सम्बन्धि नियमित जाँच गर्नेछ र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्नेछन् ।

पीएचपीलाई कार्यक्रम सञ्चालन गरिने समुदायहरुभन्दा बाहिरसमेत लाने उदेश्यका साथ जनसमुदायका मानिसहरुको स्वास्थ्यमा सुधारका लागि तथ्यांकमा आधारित व्यवहार परिवर्तनको विकास गर्नु यसको लक्ष्य हो ।

एनसेलले साउन २०७६ मा धुलिखेल अस्पतालसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम सञ्चालनको लागि सम्झौता गरेको थियो । यस कार्यक्रम अन्तर्गत प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण र दूरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य रहेको छ ।