बिरामीको मृत्युपछि आफन्तले चिकित्सकलाई कुटे

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आईसीयूमा उपचाररत बुटवलका एक बिरामीको मृत्युपछि बिरामीका आफन्तले उपचारमा संलग्न चिकित्सकलाई कुटेका छन् ।

Advertisement

निमोनियाको उपचारका लागि बुटवलबाट ल्याइएका ६२ वर्षे बिरामीको उपचारका क्रममा मंगलबार मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि कुटपिट गरेका हुन् । घटनामा संलग्न ३६ वर्षीय कृष्णप्रसाद गौतमलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रहरी निरीक्षक पुष्प थापाले जानकारी गराउनुभयो ।

अस्पतालको कोभिड आईसीयूमा कार्यरत आवासीय चिकित्सक डा. सविन भण्डारीमाथि मृतकका आफन्तले गालीगलौज गर्दै कुटपिट गरेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । उहाँले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेर दुवै पक्षबीच छलफल भइरहेको बताउनुभयो ।

मृतक निमोनियाको बिरामी भएको र बुटवलमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । तर उपचारको क्रममा भाइरल इन्फेक्सनको शंका लागेपछि इन्फ्लुएन्जाको परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अस्पतालका कोभिड संयोजक डा सन्तकुमार दासले बताउनुभयो ।