असई र प्रहरी जवान हत्याका प्रमुख योजनाकार समातिए

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रदेश प्रहरी कार्यालय डोटीको संयुक्त टोलीले धनगढीमा भएको प्रहरी हत्याका मुख्य योजनाकारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगर वडा नमबर-१० जुगेडाका ३४ बर्षीय सुकबहादुर उर्फ अमर राना रहेका छन् ।

Advertisement

नेपाल भारत सीमामा पर्ने फूलबारीबाट पक्राउ परेका रानालाई सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । उनकै योजनामा जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर-१० जुगेडास्थित रहेको अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक (असई) र जवान रामबहादुर साउद हत्या भएको थियो ।

उक्त घट्ना लगत्तै अमर राना भारततिर फरार भएका थिए । असई विक र जवान साउदको गत कात्तिक १ गते गस्तीमा गएका बेला तस्करहरुको समूहले हत्या गरेको थियो । असई विकको शव घटना भएको भोलीपल्ट बिहान मोहना नदीमा भेटिएको थियो । त्यसको दुई दिनपछि मात्र प्रहरी जवान साउदको शव पनि मोहना नदीमै फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार यसअघि उक्त हत्या काण्डमा संलग्न ८ जना अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन् । उक्त हत्या काण्डका मुख्य योजनाकार राना रहेको खुलेपछि प्रहरीले लगातार उनलाई खोजी गर्दै आएको थियो ।

उनको समूहले विगत लामो समयदेखि नेपाल-भारतको सीमा पारी पर्ने गाउँ वनकट्टी र सलियापारबाट नेपालमा अवैध सामान ल्याउन र नेपालबाट अवैधरूपमा सामान भारत पठाउने कार्य गर्दै आएको थियो । पछिल्लो समय उनले मटर (केराउ) को तस्करी गर्दै आएका थिए । सोही क्रममा असई र साउदले अवरोध गरेपछि उनीहरुको हत्या गरिएको थियो ।