April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

सीके राउतका कार्यकर्ताद्वारा हरिवन नगरपालिकाको गाडी तोडफोड, मेयर घाइते, प्रहरीद्वारा अश्रुग्यास पनि प्रहार

जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताले सर्लाहीको हरिवन नगरपालिकाका मेयर र उपमेयर सवार गाडी तोडफोड गरेका छन् । राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न जानेक्रममा जनकपुरमा गाडी तोडफोड गरिएको हो । सोक्रममा मेयर गणेश प्रसाई घाइते भएका छन् । जनकपुरमा जनमत पार्टीका कार्यकर्ताहरू र प्रहरीबीच झडप भएको छ। सिके राउतका कार्यकर्ताहरूले हातमा भाटा बोकेर मतदान स्थल पुगेका थिए । सो क्रममा प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिनका लागि अश्रु ग्याँस समेत प्रहार गरेका थिए । धनुषा प्रहरीले दुई राउण्ड अश्रु ग्याँस प्रदर्शनकारीहरू माथि प्रहार गरेका थिए ।

Advertisement

राष्ट्रिय सभा निर्वाचनको मतदान भइरहेको स्थल वरपर जनमत पार्टीका कार्यकर्ताले बाँसको भाटासहित प्रदर्शन गरेपछि प्रहरीले भिड नियन्त्रणमा लिन खोज्दा झडप भएको हो। प्रहरीले भिड तितरबितर पार्न छ राउण्ड अश्रुग्यास पनि प्रहार गरेको छ। जनमत पार्टीका कार्यकर्ताहरू मतदानस्थल महेन्द्रनारायण निधि प्रतिष्ठानभित्र छिर्न खोजेपछि झडप भएको हो।बिहानैदेखि लाठीसहित प्रदर्शनमा उत्रिएका राउतका कार्यकर्ताहरूले प्रदेश-२-०३ ००९०५ ००२० नम्बरको सरकारी गाडी तोडफोड गरेका हुन् । गाडीको सिसामा लाठी प्रहार गर्दा मेयर गणेश प्रसाईलाई चोट लागेको छ । उपमेयर रेनुका पौडेल भने सकुशल छिन् ।

‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका बिभिन्न स्थानमा जनमतका कार्यकर्ता विहानैदेखि प्रदर्शन गरिरहेका छन् । मतदानस्थलत छिर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले किसानको मुद्दा उठाएर प्रदर्शन गरिरहेको छ। किसानलाई पहिले मल दिनुपर्ने अनि मात्र भोट भन्दै आज प्रदर्शन भएको थियो। उनीहरूले टायर बालेर प्रदर्शन गरेका थिए।उनीहरुले मधेश विगत एक महिनादेखि आन्दोलित रहे पनि माग पूरा गर्न चासो नदेखाएको र मधेसमा आएर निर्वाचन गरिरहेकाले विरोध गरेको जनाएको छ।