May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

लोकतान्त्रिक समाजवादीको मोरङमा समानान्तर समिति

लोकतान्त्रिक समाजवादी, नेपालको मोरङमा समन्वय समिति समानान्तर रूपमा गठन भएको छ । समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी कार्य सञ्चालन सुरु गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय संयोजक महन्थ ठाकुरले विधान विपरीत एकलौटी रुपमा मोहम्मद कादिरको संयोजक समिति गठन गरेकामा विरोध गरेका छन् ।

प्रदेश उपाध्यक्ष कामेश्वर रौनियारले बहुमत सदस्यहरूको भेलाबाट इनामुल हक अन्सारीको संयोजकत्वमा गठन गरिएको ३१ सदस्यीय मोरङ कार्यसमितिलाई मान्यता दिनुपर्ने माग गर्दै दबाबमूलक कार्य गर्ने बताउनुभयो । उहाँले पार्टीलाई तहसनहस पार्न र मोरङमा रहेको सङ्गठन विस्तारमा अवरोध सिर्जना गर्न केन्द्रले उक्त निर्णय गरेको आरोपसमेत लगाउनुभयो ।

संयोजक अन्सारीले गएको पुस २४ गते केन्द्रीय सदस्य, प्रदेश सदस्यलगायत १२५ जना अगुवा कार्यकर्ताहरूको भेलाले विधानअनुसार आफूलाई संयोजक घोषणा गरेमा त्यसलाई केन्द्रले मान्यता दिनुपर्ने जोड दिनुभयो । पत्रकार सम्मेलनमा मङ्गलबार पार्टी कार्यालय स्थापना गरी सङ्गठन विस्तार कार्यमा लाग्ने उहाँले जानकारी दिनुभयो ।

Advertisement