प्रदेश–२ को नाम र राजधानी तोक्न आज पनि छलफल हुँदै

काठमाडौं । प्रदेश–२ को नामाकरण र स्थायी राजधानी तोक्नको लागि सोमबार (आज) पनि प्रदेश सभामा छलफल हुने भएको छ । दलीय सहमति खोज्न बनेको अध्ययन विशेष संसदीय समिति सहमति जुटाउन असफल भएपछि नाम र राजधानी तोक्ने प्रक्रिया लम्बिएको छ ।

Advertisement

आइतबार बसेको प्रदेश सभा बैठकमा समितिका सदस्य परमेश्वर साहले प्रतिवेदन पेस गर्दै नामाकरण र स्थायी राजधानीमा दलीय सहमति हुन नसकेको बताए । साहले प्रतिवेदन पेस गरेपछि नामाकरण र राजधानीबारे छलफल सुरु भए पनि सांसदहरुले पुरानै अडान दोहोर्याएका छन् ।

प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता भएको छ । सत्तारुढ जसपा र माओवादी तथा विपक्षी दल लोसपाले मधेश तथा कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव गरेका छन् । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव गरेका छन् भने कांग्रेसकै सांसद राजेश्वर साहले मध्य मधेश प्रस्ताव दर्ता गराएका छन् ।

यस्तै राजधानीका लागि जनकपुरधाम र वीरगञ्जको प्रस्ताव दर्ता भएको छ । आआफ्नो अडान राख्दै आएका कुनै पनि दलसँग दुई तिहाइ छैन ।

कुल १ सय ४ सांसद रहेको प्रदेशमा जसपाको ३९, कांग्रेसको १९, लोसपाको १६, एकीकृत समाजवादीको १३, माओवादीको ८, एमालेको ८ र नेपाल सङ्घीय समाजवादी पार्टीको १ जना सांसद छन् । राजधानी र नाम पारित गराउन दुई तिहाइ बहुमत अर्थात ७० सांसद चाहिन्छ ।