May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

ठेकेदारले दिक्तेलबजारको सडक ढलान अलपत्र पारे

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सडक ढलानको काम ठेकेदार कम्पनीले अलपत्र पारेको भन्दै स्थानीय व्यवसायीले विरोध जनाएका छन् । दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले सडक ढलानको काम अलपत्र छाड्दा हिँडडुल गर्नदेखि व्यापार–व्यवसायमा असर पुगेको भन्दै विरोध जनाएका हुन् ।

Advertisement

ढलानका लागि बजारको सडक भत्काएर यत्रतत्र ढुङ्गामाटो थुपारेर छाड्दा व्यापार व्यवसायमा प्रत्यक्ष असर पुगेको भन्दै उद्योग वाणिज्य सङ्घ खोटाङ नेतृत्वको व्यवसायी आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला प्रशासन कार्यालय खोटाङमा गएका छन् । मङ्गलबार बसेको व्यवसायीको बैठकले बेस क्याम्पदेखि त्रिवेणीचोकसम्मको सडक ढलानको काम अव्यवस्थित र अपारदर्शी भएको तथा भएका काममा ढिलासुस्ती हुँदा व्यापार व्यवसाय, विद्यार्थी र सर्वसाधारणलाई हिँडडुल गर्नसमेत असहज भएको भन्दै दबाबमूलक अभियान सञ्चालन गर्न उद्योग वाणिज्य सङ्घलाई पहलकदमी चाल्न आग्रह गर्ने निर्णय गरेको थियो ।

त्रिवेणीचोकलेखि नेपाल टेलिकमसम्मको सडक ढलानका लागि बोलपत्र आह्वान गर्नमा समेत ढिलाइ हुँदा दिक्तेलबजार ढलान गर्ने योजना बेलामा पूरा नहुने देखिएको व्यवसायीको बैठकको निष्कर्ष छ । बेस क्याम्पबाट त्रिवेणीचोकसम्मको सडक ढलानका लागि बेस क्याम्प क्षेत्रमा सडक खनेर असरल्ल छाड्दा आवतजावत गर्न समस्या भएपछि नगरपालिका र प्रशासनको ध्यानाकार्षण गराइएको उद्योग वाणिज्य सङ्घ खोटाङअन्तर्गतको लत्ताकपडा व्यवसायी उपसमिति संयोजक सुमन श्रेष्ठले बताउनुभयो ।

निर्माण कम्पनीले मानवअधिकार चोकबाट बेस क्याम्पसम्मको खण्डमा गत असोज–२२ गते राति ढलान सकेको थियो । बेस क्याम्पदेखि नेपाल टेलिकमसम्मको सडक ढलान गर्न फराकिलो पार्न थालिए पनि अपेक्षित काम भएको छैन ।

सूर्य विकास जेभीले सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको रु दुई करोड ६८ लाख बजेटमा २० मङ्सिर २०७८ सम्ममा बजार सडक ढलानको काम पूरा गर्ने गरी १० असार २०७८ मा सम्झौता गरेको थियो । कोभिड–१९ को महामारीका कारण देखाएर सडक ढलानको काम आगामी आठ माघसम्म थप गरिएको बताइएको छ ।

दैनिक उपभोक्ताको घुइँचो लाग्ने जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सडक हासम्म ३० प्रतिशत मात्र ढलानको काम सकिएको अनुमान छ । सडक ढलानको काममा अहिले पाँच÷सात जनामात्र कामदार रहेकाले तोकिएको समयमा निर्माणाधीन सडकको काम सम्पन्न नहुने निश्चित छ ।

ठेक्का लागेको ५८० मिटरमध्ये हालसम्म १३२ मिटर ढलान भएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका इन्जिनियर रामहृदय पटेलले बताउनुभएको छ । दिक्तेल बजारको मानव अधिकारचोकदेखि बेस क्याम्पसम्मको सडक ढलानका क्रममा निर्माण कम्पनीले स्टिमेटविपरीत रड राखेर ढलान गरेको पाइएको छ ।

बजारको सडक ढलानका क्रममा १०÷१० सेन्टिमिटरको दूरीमा बाँध्नुपर्ने रडलाई १८÷२० सेन्टिमिटर र १५ सेन्टिमिटरको दूरीमा कस्नुपर्ने रडलाई २५÷३० सेन्टिमिटरको दूरीमा कसेर ढलान गरिएको नेपाल तरुण दल खोटाङका जिल्ला उपाध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो । अर्कातर्फ बजार सडक ढलानका क्रममा गिटीमाथि रडको जाली उचालेर ढलान गर्नुपर्नेमा रडको जाली नउचाली ढलान गरिएको छ ।

यस्तै, ढलानका क्रममा ठूलो आकारको गिटी प्रयोग गरिएको स्थानीयवासी बताउँछन् । सबैको नजर पुग्ने जिल्लाको प्रमुख व्यापारिक केन्द्रकै सडक ढलान गुणस्तरहीन र ढिलासुस्ती हुँदा सम्बन्धित निकाय मौन रहेको जिल्लावासी आरोप छ ।