May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

फोटोसहितको मतदाता नामावली दर्ता गराउन नेताबीच होडबाजी

आगामी निर्वाचनलाई मध्यनजर गर्दै खोटाङमा आयोजना गरिएको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानका क्रममा पाँच हजार ८४६ नयाँ मतदाता थपिएका छन् । गत मङ्सिर–१७ गतेदेखि २६ गतेसम्म र मङ्सिर–२९ गतेदेखि पुस–९ गतेसम्म जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानका क्रममा दुई हजार ९६३ महिला र दुई हजार ८८३ पुरुष मतदाताको नाम दर्ता भएको हो ।

Advertisement

पहिलो चरणमा एक हजार ३०९ पुरुष र एक हजार ४३ जना महिला गरी दुई हजार ३५२ नयाँ मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्रकुमार राईले जानकारी दिनुभयो । दोस्रो चरणमा महिला एक हजार ९२० जना र पुरुष एक हजार ५७४ गरी ३ हजार ४९४ नयाँ मतदाता थपिएका छन् । अभियानका क्रममा अन्य जिल्लाका सात जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पहिलो चरणमा चारजना र दोस्रो चरणमा तीनले मतदाता नामावली दर्ता गराएका हुन् ।

पहिलो चरणमा केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाको केन्द्रमा पुगेर फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको थियो । दोस्रो चरणमा ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा फोटोसहितको मतदाता नामावली सङ्कलनको गरिएको हो ।

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लाका अधिकांश स्थानीय बासिन्दा स्वतःस्फूर्त रूपमा फोटोसहितको मतदाता नामावली सङ्कलनमा जुटेका छन् । जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरोकारवाला निकायलगायत फोटोसहितको मतदाता नामावली दर्ता गराउन आह्वान गरेका छन् ।

फोटोसहितको मतदाता नामावली दर्ता गराउन जिल्लाका कतिपय नेताले स्थानीय बासिन्दालाई गाडी नै रिजर्भ गरेर जिल्ला प्रशासन तथा निर्वाचन कार्यालयमा ल्याउने क्रम जारी छ । नेताले स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा जीत हात पार्न कार्यकर्ता तथा स्थानीय बासिन्दालाई अहिलेदेखि नै संरक्षण गर्न थालेका छन् ।

एउटा पार्टीका नेताले एउटा गाउँको स्थानीय बासिन्दालाई गाडीमा लगेर गएको थाहा पाएपछि अर्का नेताले अर्को गाउँका स्थानीय बासिन्दालाई गाडीमै लगेर मतदाता नामावली दर्ता गराउने होडबाजी नै चलेको छ । नेताहरुको सक्रियताले आगामी निर्वाचनमा मतदाताको सङ्ख्या बढ्ने आकलन गरिएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा विसं २०७४ को निर्वाचनमा एक लाख १८ हजार ३६ जना मतदाता रहेका थिए । गत जेठसम्मको तथ्याङ्कअनुसार पछिल्लो चार वर्षको अवधिमा बढेर एक लाख ३४ हजार ९६ जना पुगेको र त्यस यताको विवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा एवं सूचना अधिकारी राईले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचन ऐनअनुसार २०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गरिसक्नुपर्ने हुन्छ । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठमा सकिँदै छ । जिल्लाका कतिपय नेताले निर्वाचन मिति घोषणा नै नभई उम्मेदवारी घोषणा गर्न थालेका छन् । निर्वाचन मिति नजिकिएसँगै जिल्लाका युवापुस्तामा राजनीतिक चासो बढेको पाइएको छ ।