May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

हिमपात र चिसो छल्न लेकदेखि औलतिर

ताप्लेजुङको लेकाली बस्ती तोक्पेगोलाका समुदाय हिमपात छल्न औलतिर बसाइँ सरेका छन् । हिमपातको मौसम सुरु भएसँगै मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलाका समुदाय हिमपात छल्न लौलतिर बसाइँ सरेका हुन् ।

Advertisement

कात्तिकयता हिमाली क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो मौसम सुरु भएकाले तोक्पेगोला बस्ती नजिकका उच्च डाँडामा हिउँ पर्न थालेपछि त्यहाँका बासिन्दा न्यानो ठाउँ खोज्दै औलतिर बसाइँ सरेका हो । करिब तीन हजार ३०० मिटर उचाइमा रहेको बस्ती तोक्पेगोलाका बासिन्दा मौसमी बसाइँ सर्ने गर्दछन् । हाल बस्ती नजिक डाँडामा हिउँ पर्न थालेको र कात्तिक तेस्रो सातापछि तोक्पेगोला बस्ती रहेकै क्षेत्रमा हिउँ पर्ने भएकाले यहाँका बासिन्दा बर्षेनी मौसमी बसाइँ सर्ने गरेका छन् ।

गत वर्षको तुलनामा यसवर्ष चाँडै हिमपातसँगै चिसो सुरु भएको र दिनदिनै अत्यधिक चिसो बढ्न थालेपछि तोक्पेगोलाका बासिन्दा औलतिर बसाइँ सरेका मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु लामाले बताउनुभयो । तोक्पेगोलामा हाल १३ घरपरिवार बस्दै आएका र शुक्रबारसम्ममा उनीहरू सबै परिवार औलतर्फ झरिसकेको लामाले बताउनुभयो ।

तोक्पेगोलाका बासिन्दा चिसो छल्नलाई पापुङकै तल्लो बस्तीमा मौसमी बसाइँ सरेका वडाध्यक्ष लामाले जानकारी दिनुभयो । हिमपात र चिसो छल्न हिमाली क्षेत्रदखि औल झरेका समुदाय करिब छ महिनापछि तोक्पेगोला फर्कन्छन् । चिसो मौसम सकिएपछि वैशाखतिर मौसमी बसाइँ सरेका पुरानै ठाउँ तोक्पेगोलामा पुनःबसाइ सर्ने गरेको पापुङका वडा सदस्यसमेत रहनुभएका स्थानीय पासाङ शेर्पाले बताउनुभयो ।

पशुपालन पेशामा आबद्ध रहेका तोक्पेगोलाका बासिन्दाले आआफ्नो पशुचौपाया तथा गोठ पनि तल्लो क्षेत्रमा सार्ने गरेका शेर्पाले बताउनुभयो । शेर्पा समुदायको मात्र बसोबास रहेको तोक्पेगोलाका बासिन्दाले घरमा ताल्चा लगाएर बसाइँ सर्ने र औल क्षेत्रमा उनीहरू आफैँले अस्थायी घरटहरा बनाएर बस्ने गर्दछन् । तोक्पेगोलाका बासिन्दा अधिकांशको तल्लो औल क्षेत्रमा पनि आफ्नो जग्गा जमिन रहेको बताइएको छ ।

यता जिल्लामा पनि चिसो निक्कै बढेको छ । दिन प्रतिदिन बढ्दै गएको चिसोका कारण उच्च हिमाली बस्तीका बासिन्दा प्रभावित बन्दै गएका छन् भने एक हजार ८०० मिटर उचाइ रहेको सदरमुकाम फुङ्लिङ बजारमासमेत चिसो बढेको छ ।