May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

जसपा समर्थित युवा संघका धरानको युवा कमिटी उपाध्यक्ष एमाले प्रवेश

जनता समाजवादी पार्टी समर्थित युवा संघका धरान उपमहानगर कमिटी युवा उपाध्यक्ष अहमान अलीको नेतृत्वमा २१ जना युवाहरु नेकपा एमाले प्रवेश गरेका छन् ।

Advertisement

राष्ट्रिय युवा संघ नेपाल धरान उपमहानगर कमिटीले आइतबार आयोजना गरेको अगुवा युवा भेला तथा प्रशिक्षण कार्यक्रममा उनिहरु एमाले प्रवेश गरेका हुन् । धरान १ छाताचोकस्थित एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले युवाहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

अलीले नेकपा एमालेको सिद्धान्त र विचार मन परेर पार्टी प्रवेश गरेको बताए । उनले भने,’समाजवादी युवा संघको धरान उपमहागनर कमिटी उपाध्यक्ष थिए । आफ्नो सोच विचारले एमाले प्रवेश गरेको हो । एमालेको सिद्धान्त, विचार मन परेर हो ।’

उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले जयसिंह धामीलाई एसएसबीले तुइन काटेर महाकाली नदीमा बगाउदा पनि एकशब्द उच्चारण गर्न नसकेको भन्दै निकम्मा र लाचार सरकारले देशको नेतृत्व गरेको आरोप लगाएका छन् । उनले कांग्रेस नेतृत्वको वर्तमान सरकार नेपाली जनता र भावना अनुरुप नभएको पनि बताए ।

‘यो सरकार भनेको नेपाली जनताको भावनाको सरकार होइन, विदेशी मिशन र विदेशी चाहनाको सरकार हो भन्ने कुरा आम युवालाई बुझाउनु पर्छ, किनकी यसको सर्त नै त्यही छ,’पौडेलले भने, ‘जनताको भावना सम्बोधन गर्न सिंहदरबार पठाइएको सरकार होइन, विदेशी मिशन र चाहनाको सम्बोधन गर्ने सर्तनामासहित मुलगेटबाट होइन, वार्दलीबाट छिरेर बनेको सरकार हो ।’