May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

एक सातादेखि हराएकी महिलाको शव जङ्गलमा फेला

विगत एक सातादेखि हराएकी रुकुम (पूर्व) की एक महिलाको शव जङ्गलमा फेला परेको छ । सिस्ने–५ बाहुनठानाकी २९ वर्षीया सुफिया शाहको शव जङ्गलमा फेला परेको हो । उहाँ घरबाट हराएको एक सातापछि मृत अवस्थामा सिस्ने–५ कै कारागाउँ नजिकैको थोतेगैरा भन्ने ठाउँमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ ।

शाह पुस १ गते घरबाट हराएको परिवारले बताएको छ । परिवारले खोजी गर्दा पनि नभेटिएपछि पुस ४ गते जिल्ला प्रहरी कार्यालयलाई खोजीका लागि आग्रह गरेको थियो । त्यसै सिलसिलामा आज शाहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले बताउनुभयो । शाहको शव घाँस काट्न गएका स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शाहको मृत्यु बाटोबाट लडेर भएको प्रनाउ श्रेष्ठले बताउनुभयो । परिवारका अनुसार शाह लामो समयदेखि मानसिक रोगबाट ग्रसित रहेकाले हिँडडुल गर्ने क्रममा लडेर मृत्यु भएको हुनसक्ने उहाँले बताउनुभयो । शवको रुकुम (पूर्व) अस्पतालमा परीक्षण गरिएको छ ।

Advertisement