May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

वनको जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा हटाइयो

कृष्णपुर नगरपालिका–४ बेलकुण्डी वन क्षेत्रको नदी उकास जग्गा कब्जा गरी अवैधरूपमा बनाइएका झुपडी आज हटाइएको छ । सबडिभिजन वन कार्यालय वाणीका कर्मचारी, प्रहरी र हरियाली सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताको प्रयासमा अवैधरूपमा बनाइएका झुपडी हटाइएका हुन् ।

Advertisement

वन क्षेत्रमा निर्माण गरिएका ३० भन्दा बढी घर टहरा हटाइएको सबडिभिजन वन कार्यालय वाणीका कार्यालय प्रमुख बालमुकुन्द भट्टले बताउनुभयो । “घरटहरा निर्माण गरिएको क्षेत्रमा सिमेन्टका पिलरसहित गरिएको तारबारसमेत हटाएका छौँ”, उहाँले भन्नुभयो, “पटक–पटक यस क्षेत्रको अतिक्रमण हटाएर जान्छौँ । पुनः जग्गा अतिक्रमण गरिन्छ । वन क्षेत्र जोगाउन निकै चुनौती छ ।” सामुदायिक वनका उपभोक्ता र ताल संस्थाले पटक–पटक यस क्षेत्रमा वृक्षरोपण गरे पनि जग्गा माफियाले लगाएका बिरुवा उखेलेर फाल्ने गरेका छन् ।

अतिक्रमणमा पर्ने गरेको ५७ बिघा जग्गा नदी उकास क्षेत्रको रहेको छ । जग्गा माफियाले यस क्षेत्रको जग्गा किनबेच गर्र्दै आएका छन् । “अतिक्रमण हटाउन जाँदा नयाँ व्यक्तिलाई ल्याएर राखेको देखिन्छ”, कार्यालय प्रमुख भट्टले भन्नुभयो, “घर टहरा कुर्नका लागि वृद्ध व्यक्ति वा अशक्तलाई राखिएको हुन्छ ।” जग्गा खरिद बिक्री गर्ने माफियाको खोजी कार्यमा लागेको उहाँले बताउनुभयो ।

अतिक्रमण नियन्त्रण गरी साविकको वन क्षेत्रको जग्गा कायम गर्नका लागि टे«न्च निर्माण गर्ने कार्य केही दिनभित्रै सुरु गरिने उहाँले बताउनुभयो । अतिक्रमणमा पर्दै आएको नदी उकास क्षेत्रको जग्गामा ३५ परिवारमुक्त कमैयालाई पुनःस्थापन गरिएको थियो । नदीको बाढीले पुनःस्थापन गरिएका मुक्त कमैयाका ३० परिवार विस्थापनमा परेपछि सरकारले अन्यत्र पुनःस्थापन गरेको छ । पाँच परिवार त्यस क्षेत्रमा जग्गा भए पनि एक परिवारमात्रै त्यस क्षेत्रमा बस्दै आएको छ ।