April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

हिमपातले हवाई उडान अवरुद्ध

उच्च हिमाली हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा प्रतिकूल मौसमका कारण हवाई उडान अवरुद्ध भएकोे छ ।

Advertisement

बिहिबार बिहानदेखि जिल्लामा हिमपात भएपछि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा हवाई सेवा प्रभावित भएको हो । नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका नेपाल एयरलाइन्स, सीता, समिट र तारा एयरले हिमपातका कारण उडान भर्न नसकेका हुन् ।

हुम्लामा हिमपात हुनुका साथै नेपालगञ्जसहित तराइको क्षेत्रमा बाक्लो हुस्सु तुवालोसहित कुइरो लागेपछि उडान हुन् नसकेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । जिल्लामा बिहान ६ बजेदेखि हिमपात भएको थियो भने त्यसपछि अहिले बाक्लो कुइरो लागेकाले हुम्लामा उडान भर्दै आएको हवाई यातायातको सेवा प्रभावित भएको हो ।

हुम्लामा लागि सीता, समिट र तारा एयरले बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म उडान भर्दै आएका थिए । हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रु सिमकोटमै रोकिएका छन् भने नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रुसमेत उतै रोकिएका हुन् । प्रतिकूल मौसमका कारण जिल्लामा बिहीबार खाद्यान्न सामग्री, दैनिक उपभोग्य तरकारीलगायत निर्माण व्यवसायीको ढुवानी हुन नसकेको हो ।

सीता एयरले नेपालगञ्ज र सुर्खेतदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखा हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको थियो भने अन्य समिट र तारा एयरले यात्रु तथा अन्य कार्गोको सामग्री ढुवानी गर्दै आएका थिए । हिमपातले आज हवाई सेवा ठप्प भएको हो ।

हिमपातले उत्तरी क्षेत्रको जनजीवन कष्टकर

बिहीबार बिहानदेखि हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन प्रभावित भएको छ । नाम्खा गाउँपालिकाको लिमी, हल्जी, जाङ्, यारी, चाला र हिल्सालगायत उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपातले यहाँका नागरिकलाई चिसो घरबाहिर निस्कन थप कठिनाइ बनाएको लिमीका स्थानीय पेमा लामाले बताउनुभयो । हिमपातसँगै चिसो अत्यधिक भएको लामाले बताउनुभयो । गाउँमा वृद्धवृद्धासहित बालबालिकालाई बढी समस्या बनाएको हो । हिमपातले सदरमुकाम सिमकोटमा चिसो अत्याधिक बढेको छ ।