April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

कर्णाली प्रवेश गर्ने सुर्खेतका दुई नाकामा ‘होल्डिङ सेन्टर’

कर्णाली प्रवेश गर्ने सुर्खेतका दुई नाकामा ‘होल्डिङ सेन्टर’ निर्माणको प्रक्रिया अघि बढेको जनाइएको छ । कोभिड–१९ को तेस्रो लहर रोकथामका सन्दर्भमा मुख्यमन्त्री जीवनबहादुर शाहीले आज सन्देश जारी गर्दै पश्चिम सुर्खेतको कुइनेमा ‘होल्डिङ सेन्टर’ सञ्चालनमा ल्याइएको र भेरीगङ्गा नगरपालिका– १२ मा निर्माण प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो ।

मुख्यमन्त्रीले प्रदेशका सात जिल्लामा अक्सिजन प्लान्ट सञ्चालन, खोप सेवासँगै प्रभावकारी परीक्षण तथा विगतमा सञ्चालनमा ल्याइएका आइसोलेशन, भेन्टिलेटर, आइसियूलाई तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री शाहीद्वारा जारी सन्देशमा भनिएको छ, “प्रदेश प्रवेश विन्दुमा एन्टिजेन परीक्षण कार्यलाई थप प्रभावकारी बनाउन र त्यस्तो परीक्षणबाट पोजिटिभ देखिएकालाई संस्थागत आइसोलेशनमा राख्ने व्यवस्थाका लागि सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।”

प्रदेशस्तरीय कोभिड–१९ निर्देशक समितिको बैठकले कर्णालीका नागरिकलाई ओमिक्रोन भाइरस सङ्क्रमणबाट बचाउन होल्डिङ सेन्टरलाई प्रभावकारी बनाउन, सबै स्थानीय तहलाई विगतमा गरेका कामलाई निरन्तरता दिन निर्देशन दिइएको उल्लेख छ ।

Advertisement