May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

विद्यालयमै बेहोस छात्रको मृत्यु

दमौली- विद्यालयमै बेहोस भएका तनहुँका एक विद्यार्थीको मृत्यु भएको छ । तनहुँको बन्दिपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालयमा आठ कक्षामा अध्ययनरत १८ वर्षीय सुजन घलेको आज मृत्यु भएको हो ।

Advertisement

मुटु दुख्यो भनेर बेहोस भएका उनलाई डुम्रेस्थित मोती मेडिकल हल पठाइएको र त्यहाँबाट दमौली अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको पवित्रा माध्यमिक विद्यालयका अध्यक्ष हेमराज लामिछानेले जानकारी दिनुभयो । विद्यालयमै बिरामी परेपछि तत्काल उनलाई मेडिकल लगिएको थियो ।

धादिङ घर भई भानु नगरपालिका–१३ आफन्तको घरमा बसेर पढिरहेका उनी मुटुको बिरामी थिए । मृतकका आफन्तलाई खबर गरिसकिएको छ ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले ती विद्यार्थीमा पहिल्यैदेखि मुटुको समस्या रहेको जानकारी पाएको बताउनुभयो । “मुटुको भल्वमा समस्या रहेको जानकारी पाएका थियौ, गरिबीका कारण उपचार गराउन सकेका थिएनन,” उहाँले भन्नुभयो ।