May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

बेनीमा किशोरी सम्मेलन

म्याग्दीको सदरमुकाम बेनीमा आज ११ बुँदे घोषणापत्र जारी गर्दै प्रथम जिल्लास्तरीय किशोरी सम्मेलन सम्पन्न भएको छ । गल्र्स फस्ट फण्डको सहयोग, धवलागिरि गाउँपालिकाको उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रम र सामाजिक विकास कार्यालयको समन्वय तथा सङ्गम म्याग्दीको आयोजनामा किशोरी सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्नेलगायत किशोरीको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा घोषणापत्र जारी गरेको हो ।

Advertisement

सम्मेलनमा म्याग्दीका छवटै स्थानीय तहका २५ वटा विद्यालयमा गठन भएका किशोरी सञ्जालका ६१ जना प्रतिनिधिको सहभागिता थियो । किशोरीले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग समस्याको पहिचान गरी समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने विषयमा सम्मेलनमा छलफल भएको सङ्गम म्याग्दीका अध्यक्ष दिपक पौडेलले जानकारी दिनुभयो ।

किशोर अवस्थामा विवाह गर्दा हुने असर तथा हानिका बारेमा समुदायस्तरमा सचेतना फैलाउने, २० वर्ष पुगेपछि मात्र विवाह गर्ने, २० वर्षभन्दा कम उमेरमा विवाह हुन लागेको सूचना प्रहरी, जनप्रतिनिधिलाई जानकारी गराउने र कानूनी कारबाहीको दायरामा ल्याउन सघाउने घोषणापत्रमा उल्लेख छ ।

सबै विद्यालयमा महिनावारी हुँदा प्रयोग गर्ने प्याड विसर्जनका लागि ‘इन्सिलेटर’को व्यवस्थापन गर्न माग गरेको सम्मेलनमा सहभागीले आराम कक्षको व्यवस्था गर्न स्थानीय तह र विद्यालयलाई अनुरोध गरेका छन् । २० वर्ष नपुगी विवाह गर्ने जोडीको गाउँठाउँमा मिलाउने गलत प्रवृत्तिको विरोध गर्ने र त्यस्तो हुन लागेको जानकारी पाएमा प्रहरीलाई सूचना दिने घोषणापत्रमा उल्लेख छ । किशोरीमाथि हुने यौनशोषण, हिंसा, बलात्कार अन्त्य, सुरक्षाको ग्यारेन्टी र त्यस्ता घटनामा संलग्नलाई कानूनी कारबाहीको माग गरेका छन् ।

महिनावारीलाई प्राकृतिक प्रक्रियाका रुपमा लिन आग्रह गर्दै त्यो अवस्थामा अध्याँरो कोठामा थुन्ने, घरबाट बाहिर निस्कन नदिने, मीठो मसिनो खान नदिने अन्धविश्वास र रुढीबादीको भत्र्सना गर्दै महिनावारीको अवस्थामा किशोरीमैत्री वातावरण बनाउन आग्रह गरेका छन् । बाँच्न, संरक्षण, विकास र सहभागिताको नैसर्गिक अधिकारको सहजरुपमा उपभोग गर्ने वातावरण बनाउन माग गरेका छन् । सम्मेलनमा सहभागीले बालविवाह नियन्त्रणमा सरकारी निकायबाट सहयोग नपाएको, सामाजिक हिसाबले दबाव आउने गरेका, महिनावारीका समयमा विद्यालयमा उचित वातावरण नहुँदा घरमै बस्न बाध्य भएको र यौन दुव्र्यवहार भएको बताएका थिए ।

किशोरी सञ्जालमार्फत विद्यालय र समुदायस्तरमा सचेतनामूलक कार्यक्रमका साथै बालविवाह हुन लागेको सूचना जनप्रतिनिधि र प्रहरीलाई गराएको ताकम माविको किशोरी समूहकी अध्यक्ष करुना परियारले बताउनुभयो ।

कार्यक्रममा सङ्गम म्याग्दीका कार्यकारी निर्देशक भरत केसीले धवलागिरि गाउँपालिकामा बालविवाहको अवस्थाका साथै असर र कानूनी व्यवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार धवलागिरि गाउँपालिका– २, ३, ४ र ७ नं वडामा २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने किशोरीको सङ्ख्या ४६३ जना भेटिएको छ ।

कार्यक्रममा सांसद भूपेन्द्रबहादुर थापा, धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन, बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङ लगायतले बालविवाह न्यूनीकरणका लागि किशोरी सचेत बन्नुपर्ने बताउनुभयो । सहभागीलाई बालविवाहका कारण, असर र बालविवाह गर्नेलाई हुने कानूनी कारबाहीका बारेमा जानकारी गराइएको थियो । सम्मेलनका अवसरमा धनजनता माविका नरदेवी विक अध्यक्ष र धनमाया श्रेष्ठ सदस्य रहेको जिल्लास्तरीय किशोरी सञ्जालको समन्वय समिति गठन भएको सङ्गम म्याग्दीका शिक्षा विकास अधिकृत चन्द्रप्रकाश बुढाले बताउनुभयो । यसैगरी रघुगङ्गा माविका शिक्षक मेघा रिजाल अध्यक्ष र बालविवाह न्यूनीकरण परियोजनाका संयोजक खिमा पुर्जा सदस्य सचिव रहेको जिल्लास्तरीय लैङ्गीक सम्पर्क शिक्षकको समन्वय समिति गठन भएको छ ।