May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

बाढीपहिरापीडितलाई पुनःस्थापनाको आश्वासन मात्रै

डडेल्धुरा – डडेल्धुराका बाढीपीडितको जीवन कष्टकर बन्दै गएको छ । पहिरापीडित भएको करिब तीन महिना बितिसक्दा पनि राहतको नाममा आश्वासनमात्रै पाउँदा उनीहरु झन् पीडित बनेका हुन् ।

Advertisement

गत कात्तिक पहिलो साता पहिराका कारण घरवारविहीन बनेका अजयमेरु–१ का केशव पार्कीका परिवार हालसम्म पनि अर्काकै घरमा आश्रित छन् । नातिनातिनासहित छ जनाको परिवार छिमेकीको जीर्णघरमा बस्दै आएका उहाँ बढ्दै गएको चिसोले झन् पीडा बल्झाएको दुःखेसो पोख्नहुन्छ । उहाँको पहिराले लगााउने लुगादेखि खाद्यान्न र गोठमा रहेका गाईवस्तुसमेत अत्तोपत्तो चलेको थिएन ।

उहाँले भन्नुभयो“ तत्कालका लागि राहातस्वरुपको रु २० हजारबाहेक अन्य सहयोग भएको छैन । तीन महिना बढी भइसक्यो पुनःस्थापनाका लागि कुनै सुनुवाइ भएको छैन । ” त्यसैगरी जिल्लाका अन्य क्षेत्रका बाढीपीडितको अवस्था पनि त्यही छ । गन्यापधुरा–१ का दर्जन बढी परिवार पनि घरवारविहीन बनेका थिए । अमरगढी–१ का दर्जन बढी परिवार पहिरा जोखिमले गर्दा गाउँ नै अन्यन्त्र सानुपर्ने माग गर्दै आएका छन् । त्यसैगरी परशुरामका बाढीपहिरो पीडितको अवस्था पनि ज्यूँका त्यूँ छ ।

सरकारले गत असोज–कात्तिकमा आएको बाढीबाट प्रभावितलाई पुनःनिर्माण र पुनःस्थापना गर्ने भन्दै १० जिल्लाका ३३ स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषण गरेको पनि महिनौँ बितिसक्यो । मङ्सिर २१ गते माघभित्रै कार्यक्रम सञ्चालन गर्ने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । अहिलेसम्म स्थानीय तहको राम्ररी तथ्याङ्कसमेत सङकलन हुनसकेको छैन भने पुनःनिर्माण र पुनःस्थापनाको कुनै पनि सुरुआत हुनसकेको छैन ।

बाढीपहिरापीडित अहिले पनि टहरामै बस्न बाध्य छन् । माथिबाट आएको राहत वितरण तत्कालै भइसकेको जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भन्नुभयो, अन्य काम पनि चाँडै सुरुआत हुुन्छ । उहाँले मृतका घरपरिवारलाई दुई लाखका दरले र घर पूर्ण क्षति भएका मानिसको अवस्था हेरी २० हजारसम्म नगद राहत उपलब्ध गराएको जनाउनुभयो ।

सरकारले यहाँका पाँच पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि पुनःनिर्माण सुरु हुनसकेको छैन । घोषणाअनुसार विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तथा पीडितलाई पुनःस्थापना गरिनुपर्नेमा कुनै काम सुरु भएको छैन । स्थानीय तहमा पुगेको क्षतिको पुनःनिर्माण तथा पुनःस्थापनाको काम, घर, सडक, खानेपानी, सिँचाइ, विद्यालय आदि निर्माण गरिने प्राधिकरणले बताएको थियो ।

विपद्ग्रस्त घोषणा भएपछि क्षतिग्रस्त संरचना पुनःनिर्माण हुने भन्दै स्थानीयवासी उत्साहित भएका थिए । तर घोषणा अवधि (माघ मसान्त) सकिन एक महिनामात्रै बाँकी हुँदासम्म पनि पुनःनिर्माणको काम सुरु हुने कुनै छाँटकाँट नदेखिएको पहिराले क्षति पु¥याएको गाणेशपुर मावि वडालका व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र मालीले बताउनुभयो । घोषणा कागजमै सीमित हुने देखिएको छ, बाढीपहिरापीडितले पनि कष्टपूर्ण जीवन जिउन बाध्य रहेको गन्यापधुरा–१ अशिग्रामका पहिरापीडित पदमबहादुर देउवाको भनाइ छ । उहाँ भन्नुहुन्छ, “पुनःस्थापनाको काम चाँडै गरिनुपर्छ, अब धेरै पीडा सहन सकिँदैन ।”

जिल्लाभर पहिराका कारण लक्षित समुदायका मानिस नै बढी पीडित छन् । अजयमेरु–१ मुद्राड खोली बस्ने केशव पार्की पनि मुक्त हलिया हुन् । उनी ‘क’ वर्गको परिचय प्राप्त मुक्त हलिया हुन् । पहिरामा परेको उनको दुईतले घर पनि मुक्त भएपछि सरकारले निर्माण गरिदिएका हुन् । तर उक्त घर नै पहिराले लगेपछि उनको कुनै सम्पत्ति बाँकी छैन ।

पहिरामा परी जिल्लाका तीन जनाको ज्यान गएको थियो । जिल्लाभर तीन दर्जन बढी घर पूर्ण क्षति भएका थिए भने पशुचौपायाका साथै अन्य गरी करोडौँ क्षति भएको थियो । पीडित अहिले पनि पुनःस्थापनाको आशामा कष्टकर जीवन निर्वाह गरिरहेका छन् । हिउँदो चिसो छल्न र स्थायी बासका लागि सरकारसँग अपिल गरिरहेका छन् ।