April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

बजेट थप्नुपर्ने योजनाको नाम पठाउनुस् : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजेट थप गर्नुपर्ने योजनाको नाम पठाउन बागलुङका कार्यालय प्रमुखलाई आग्रह गर्नुभएको छ । आइतबार मन्त्री पौडेलले गृह जिल्लामा रहेकाका कार्यालयका प्रमुखसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण माग्नुभएको हो ।

Advertisement

उहाँले रकमान्तर र नयाँ बजेट निर्माणको तयारी सुरु भएकाले तत्काल गर्नुपर्ने काम केही भए लेखेर पठाउन भन्नुभएको छ । अर्थ मन्त्रालयले फागुनको पहिलो साता रकमान्तर गर्ने र सोही समयबाट नयाँ बजेटको तयारी हुने भएकाले योजना माग गर्नुपरेको उहाँले बताउनुभयो । कार्यालय प्रमुखसँग मन्त्री पौडेलले भन्नुभयो, “थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु ।’’ कानुनअनुसार निर्वाचन तोकिएकै समयमा हुने भएकाले फागुन महिना भरीमा सञ्चालित धेरै योजनाको काम सक्न कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । मन्त्री पौडेलले गलकोट–मल्म जोड्ने पक्की पुल निर्माणमा ढिलाइ भएको भन्दै त्यसको अनुगमन गरी कामअघि बढाउन सम्बन्धित कार्यालयलाई निर्देशन दिनुभयो ।

जिल्लामा झलुङ्गे पुलको समस्या समाधान हुँदै गएकाले नयाँ बनाउनुपर्ने ठाउँको अध्ययन गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । आलु, मकै तथा अन्य कृषिसम्बन्धी योजनामा बजेट विनियोजन गर्नुपरे योजनाको नाम टिपाउन आग्रह गर्नुभयो । नयाँ बजेटका लागि योजना आयोगसँग छलफल चलिरहेको भन्दै रणनीतिक योजना, विद्यालय, मोटरबाटोलगायत पूर्वाधार निर्माणका लागि कुन योजनामा कति रकम विनियोजन गर्ने लिपीबद्ध गरी टिपाउन मन्त्रीले निर्देशन दिनुभयो । बुर्तिबाङ प्राथमिक अस्पताललाई जिल्ला अस्पताल बनाउने प्रक्रिया रहेको भन्दै आवश्यक प्रक्रिया जुटाउने काम भइरहेको उहाँले बताउनुभयो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले शान्ति सुरक्षा जिल्लामा सामान्य नै रहेको जानकारी गराउनुभयो । सरकारी कार्यालय प्रमुखले अन्तरक्रियामा बागलुङ कुश्मीशेरा सडकको गलुवामा पहिराको समस्या रहेको विषयमा मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए । वर्षातको समयमा खसेको पहिरो हिउँदको समयमा नियन्त्रण र सडक मर्मत नगरे आउँदो वर्षामा समस्या दोहोरिने उनीहरूले जानकारी गराएका थिए ।