May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

एमाले १०औं महाधिवेशनः आज देशभर प्रतिनिधि चुन्दै, उच्च समझदारी अपनाउन ओलीको आह्वान

नेकपा एमालेले आज एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । एमालले संगठित सदस्य संख्याका आधारमा देशभर एकै दिन १ हजार ९ सय ९९ प्रतिनिधिहरू चयन गर्न लागेको हो ।

Advertisement

उनीहरुले नै महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्ने छन् । वडा, नगर, गाउँ अधिवेशन सम्पन्न गरिसकेको एमालेले १०–१२ मंसिरमा चितवनमा हुने १०औँ महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न लागेको हो । यद्यपि, कतिपय जिल्लामा सहमतिका आधारमा यसअघि नै प्रतिनिधि चयन भइसकेका छन् ।

एमाले अध्यक्ष केपी शर्माले प्रतिनिधि छनोट उच्च समझदारीमा गर्न आह्वन गरेका छन् । शुक्रबार साँझ भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको उच्चतम विधि प्रतिस्पर्धा मात्रै नभई उच्च समझदारीसमेत भएको बताएका छन्।

‘चितवनमा आयोजना हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनका लागि भोलि कात्तिक २७ गते देशैभर एकै दिन १९९९ भन्दा बढी प्रतिनिधिहरुको चयन हुँदैछ,’ ओलीले भनेका छन्, ‘हाम्रो पार्टी एउटा लोकतान्त्रिक पार्टी हो । हामी लोकतन्त्रलाई प्रणालीकोरूपमा मात्रै होइन प्रक्रिया र पद्धतिकारूपमा पनि बुझ्दछौं।’

ओलीले भनेका छन्, ‘ दलहरूका बीचमा प्रतिस्पर्धा हुन्छ र त्यो स्वस्थ हुनुपर्छ । दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हो । तसर्थ म सम्पूर्ण पार्टी सदस्यहरुलाई उच्च समझदारीका साथ आसन्न दशौं राष्ट्रिय महाधिवेशनका लागि आ–आफ्ना प्रतिनिधि छनौट गर्न हार्दिक आव्हान गर्दछु।’

एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था एमालेले गरेको छ । जसमा एक जना महिला अनिवार्य गरिएको छ। यसअघि एक हजार पाँच सय सदस्य बराबर तीन जना छनोट गर्ने व्यवस्था रहेको थियो ।