May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

विकास निर्माणका क्षेत्रमा उल्लेखनीय कार्य गरेको छः नेता पोखरेल

नेकपा एमालेका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले विकास निर्माणका क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउनुभएको छ ।

Advertisement

एमालेको प्रथम विराटनगर नगर अधिवेशनको आज उद्घाटन गर्दै उहाँले तराई क्षेत्रमा रोकिएको हुलाकी राजमार्ग एमाले नेतृत्वको सरकारले पुनःनिर्माण सुरु गरेर यस क्षेत्रका जनताको मन जितेको बताउनुभयो ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका नेता पोखरेलले एमाले नेतृत्वको सरकारले चीनसँग जोड्ने उत्तर दक्षिण सातबटा सडक निर्माण कार्यलाई द्रुतगतिमा आगाडि बढाएको पनि बताउनुभयो ।

प्रदेशसभा सदस्य यशोदा अधिकारी, नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, प्रदेश खेलकुद बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत र नगर अध्यक्ष सागर थापाले एमाले नेतृत्वको सरकारले जनताको आर्थिक समृद्धि र व्यवस्थित विकास निर्माणमा उल्लेखनीय कार्य गरेको धारणा व्यक्त गर्नुभयो ।

पार्टीको नगर सभापतिमा पर्शुराम वस्नेत र सागर थापाबीच प्रतिस्पर्धा हुने बताइएको छ ।