May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

गिरिजा, माधव र प्रचण्ड गणतन्त्र स्थापनाका महानायक- वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले तीन नेतालाई गणतन्त्रका महानायक भनेका छन ।

Advertisement

शनिबार १४ औं गणतन्त्र दिवसका अवसरमा नेता गौतमले गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र प्रचण्डले भूमिका खेलेको भन्दै नेता गौतमले तीनै नेतालाई महानायकका रुपमा सम्झेका हुन ।

‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाल ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो,’ गौतम भन्छन्, ‘उहाँहरुमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न । अरु, दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ ।’

त्यस्तै, नेता गौतमले एमालेको केन्द्रीय कमिटीमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको लिखित प्रस्ताव राख्ने व्यक्ति आफू भएको बताएका छन् । पार्टीमा गणतन्त्रको प्रस्ताव राख्दा तीनजना नेताहरु विपक्षमा उभिएको नेता गौतमले बताएका छन् । उनले ती नेताहरुको नाम भने लिएका छैनन् ।

‘विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो’ एमाले नेता गौतम भन्छन्, ‘त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ ।’

नेता गौतमले आज १४ औं गणतन्त्र दिवसको अवसरमा सबै शहीदहरुलाई श्रद्धाञ्जली र सम्मान प्रकट गर्दै श्रद्धाञ्जली दिएका छन ।