May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

महेश बस्नेतलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको अभियोगमा पक्राउ परेका चन्दलाई रिहाइ गर्न कांग्रेसको माग

१६ पुस, काठमाडौं । सांसद महेश बस्नेतलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको अभियोगमा आफ्ना पार्टी सदस्य डिल्लीबहादुर चन्दलाई पक्राउ गरिएकोप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

Advertisement

प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै चन्दलाई तत्काल रिहाइ गर्न पनि माग गरेका छन्।पूर्वप्रहरी सहायक निरीक्षक (असई) चन्दले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर प्रहरीले प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरेको कांग्रेसले निष्कर्ष निकालेको हो ।

‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाब दिनु जस्ता घटना भएका बेला एक होइन हजारौं डिल्ली चन्दहरुले घटनाको विरोध गरेर सामाजिक सञ्जालमा लेखेकै हुन्,’ प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

,डिल्लीको लेखाइले कुनै पनि ब्यक्तिलाई गाली बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारवाहीका लागि ०७४ मा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै ब्यवस्था रहेको छ। ‘तर त्यो कानूनी प्रक्रिया भन्दा विपरीत गएर प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गर्नु भनेको सत्ताको आडमा विद्युतीय कारोबार ऐन र प्रहरी समेतको दुरुपयोग गरिएको उदाहरण हो,’ उनले भनेका छन्।

सांसद बस्नेत, किशान श्रेष्ठ, पूर्वआईजीपी सर्वेन्द्र खनाल लगायतको समूहले समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद सुरेन्द्र यादवलाई काठमाडौं ल्याएका थिए । समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरेका थिए ।