May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

सिसडोलमा फोहर व्यवस्थापन कार्य कठिन बन्दै

लामो समयदेखि फोहर वयवस्थापन गरिदैँ आएको सिसडोलमा आगामी दिन थप कठिन हुने भएको छ । उक्त स्थानमा विगत १४ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएको छ । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठसहितको टोली आज सिसडोलको स्थलगत अनुगमनमा पुग्दा आगामी दिनमा समस्या थपिने देखिएको बताउनुहुन्छ । उक्त स्थानमा यस अघि पनि पटक–पटक फोहरको ढिस्कोलाई माटोले पुरेर व्यवस्थापन गरिएको थियो । आउने दिनमा त्यो अवस्था नरहेको प्रमुख श्रेष्ठको भनाइ छ ।

Advertisement

सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधिन दीर्घकालिन ल्याण्डफिल साइटको काम अझै पुरा नहँुदा थप समस्या भएको कामपाको भनाइ छ । साघुरो ठाँउ लामो समयसम्म फोहर व्यवस्थान गर्दा हरेक वर्ष वर्खाको समयमा समस्या आउने गरेको छ भने स्थानीयबासीले पनि समय समयमा अवरोध गर्दै सिसडोलको विकल्प खोज्न दबाब दिइरहेका छन् ।

निर्माणाधिन बञ्चरेडाँडाको काम एक वर्षमा सम्पन्न गर्ने भन्दै २०७६ वैशाखबाट शुरु गरेपनि हालसम पहिलो सेलको मात्र काम सकिएको छ । दीर्घकालिनरुपमा फोहर राख्ने स्थानको समस्या भएको भन्दै कामपाले निर्माणको काम सक्दो छिटो सकेर हस्तान्तरण गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

बञ्चरेडाँडामा दीर्घकालीन फोहर विसर्जन स्थान (स्यानिटरी ल्याण्डफिल साइट)निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी ९उपक्रम०सँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माणको सम्पूर्ण काम गत वैशाखमा नै सकिनुपर्ने भए पनि पूर्णरूपमा काम अझै सकिएको छैन ।

सहरी विकस तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएकाले फोहर व्यास्थान गर्न सकिने जानकारी गराइसकेको बताएको छ । विभागले गत भदौको तेस्रो साता सो सेल निर्माणको काम सम्पन्न गरेको हो । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा विसर्जन हुन्छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । हाल उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।