महायोगी भट्टारक मिलारेपा

कल्पना पराजुली (तिलस्मी प्रभास)

Advertisement

हिमाली क्षेत्रका एकदमै प्रसिद्ध बौद्ध योगी तथा दोहा गायक मिलारेपाको बाल्यकालको नाम थोपागा थियो । अत्यन्त धनी परिवारमा सन् १०४० मा जन्मेका थोपागाको कुल मिला थियो । तिनै मिला कुलमा जन्मेका व्यक्ति पछि सुतिको बर्को रेमात्र ओढेर हिमालमा बस्न सक्ने व्यक्ति रेपा भएपछि मिलारेपा नामले चिनिए ।

तिब्बती भाषामा रे भन्नाले सुतीको वश्त्र र पा भन्नाले धारण गर्ने वाला भन्ने हुन्छ । उनको नामको अगाडि भट्टारक, जेचुन, योगेश्वर जस्ता पदवी पनि जोडेर जेचुन मिलारेपा जस्ता शब्दले पनि उनलाई सम्बोधन गरिन्छ चाङ्न्योन हेरुक अर्थात् रुपे ग्येन्चेन (सन् १४५२–१५०७) ले पन्ध्रौँ शताब्दीमा लेखेको मिलारेपा विमोक्ष नाम्थार जीवनीमा आधारित भएर सङ्क्षिप्त परिचय दिन चाहन्छु ।

मिला शेराव ग्याल्छेन र कार्मो ग्येनका पुत्रको रुपमा तिब्बतको क्याङाचामा जन्मेका थोपागालाई सात वर्षको उमेरमा पितृशोक पर्यो । आमा र बहिनीसँगै उनी काका र फुपूको घरमा नोकरको रुपमा काम गर्न बाध्य भए । सोह्र वर्षको उमेरमा पैतृक सम्पत्ति आफन्तहरुबाट फिर्ता लिन खोज्दा असाध्यै अपमानजनक रुपमा लखेटिए । आफ्नो सम्पत्ति नपाएको रिसमा आमाले मिलारेपालाई टुनामुना सिकेर काका लगाएतका आफन्तहरुलाई मार्न झाँक्रीहरुकहाँ पठाइन् । खुलुङ्पा योन्तेन ग्याछोबाट मान्छे मार्ने कुविद्या सिकेर काकाको छोराको बिहेमा भोज खान लागेका ३५ जना आफन्तहरुलाई एकै चिहान बनाइदिए ।

काका र फुपू संयोगवश बाँचे । फेरि आमाको आग्रहमा युङ्तोन ठोग्याल नामक झाँक्रीबाट असिना पार्ने विद्या सिकेर आफ्ना मामाको जग्गाको बाहेक सबै गाउँलेहरुको बाली उठाउन ठिक्क पारेको उवा नष्ट पारिदिए । यस्ता कुकृत्यहरुबाट पछुतो मानी बुद्ध धर्म सिकाउने सद्गुरुको खोजीमा पुर्ख्यौली गाउँमा नफर्किकन लोढाग भन्ने ठाउँतिर लागे । तिब्बतको ल्होढाग भन्ने स्थानमा मार्पा लोचावा (सन् १०१२–१०९७) नामक बौद्ध गुरु अनुवादकलाई भेटेर बौद्ध धर्मको अभ्यास गर्न थाले । मार्पाले लगभग २१ वर्ष नेपाल र भारतको भ्रमण गरी भारतीय गुरुहरु नारोपा, मैत्रीपा, कुकुरिपा तथा नेपाली पिण्डपा चिथार्पा र फम्थिङ्पाबाट बुद्ध धर्मको शिक्षा दीक्षा लिई अभ्यास
गरेका थिए ।

एघारौँ शताब्दीमा उत्तरी भारत र काठमाण्डौँ उपत्यकामा प्रचलित वज्रयान बौद्ध धर्मका सँस्कृत ,अपभ्रंश आदि भाषाहरुमा लेखिएका ग्रन्थहरुको तिब्बती भाषामा उल्था गर्नमा मार्पाको उल्लेखनीय स्थान छ । यिनै मार्पा गुरुको सेवा गरी मिलारेपा एक्लैले बनाएको सेखार गुथोगनामक नौतले भवन तिब्बतको न्यानाङमा अहिले पनि छँदैछ । त्यसैको प्रतिरुप भक्तपुरको महामञ्जुश्री क्षेत्रमा बनाइएको छ, जहाँ मिलारेपाले एघारौँ शताब्दीमा ध्यान गरेका थिए । आफ्ना गुरुबाट वज्रयानका अभिषेक र उपदेशहरु लिएपछि साधनाको क्रममा मिलारेपा नेपालको हिमाली क्षेत्रका गुफाहरुमा आए । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाविसमा रहेको ताग्फुग सेङ्गे जोङ गुफामा लामो समयसम्म तपस्या गरेको कुरा प्रसिद्ध छ ।

त्यस्तै भक्तपुर, मनाङ, उत्तरी गोर्खाका नुव्री र चुम, मुस्ताङ र दोलखाको लाब्ची क्षेत्र मिलारेपाको तपोभूमि हुन् । चुमपारिको ढाग्कार तासो क्षेत्रमा मिलारेपालाई महामुद्रा सिद्धि भयो । त्यसपछि पनि तिब्बतको दिङ्री ,कैलाश, डिन ,न्यालाम, छुवार आदि क्षेत्रहरुमा तपस्या गर्दा धेरै चेलाहरु बन्न पुगे । ती मध्ये रेछुङ् दोर्जे ढाग् नामक मन्त्रधर र दाग्पो लार्जे गम्पोपा नामक भिक्षु प्रमुख चेलाहरु भए । ८३ वर्षको उमेरमा लाव्ची छुवार भन्ने ठाउँमा धेरै चेलाहरुको बीचमा उनको परिनिर्वाण भयो ।

मिलारेपा बाल्यकालदेखि नै सुमधूर स्वरका धनी थिए । आमासँग गाउँमा हुँदा गीतमा मस्त भएर हिँडदा दुःखी आमाको मन रोयो । तँ यस्तो दुःख परेको बेलामा पनि खूब गीत गाउदै हिँडने हैन कसरी सकेको ? भन्दै पिटिन् । त्यस पछि रोएर आफैँ मूर्छा परेकी थिईन् उनी । मार्पा गुरुसँग उपदेश पाएर ध्यान गर्ने क्रममा हिमालयका गुफा र कन्दराहरुमा मानिसहरु भेट्दा पनि गीतमै उपदेश दिने गर्थे । क्रमश —

लेखक तिब्बती भाषाबिद र  साहित्यकार हुनुहुन्छ!