छिमेकी मुलुकलाई विमान र हेलिकोप्टर फिर्ता गर्न तालिबानको अपिल

काठमाडौं । तालिबानले आफ्ना छिमेकी मुलुकलाई अफगान विमान र हेलिकोप्टर फिर्ता गर्न अपिल गरेको छ । तालिबानका कार्यकारी रक्षामन्त्री मुल्ला मोहम्मद याकूब मुजाहिदले ताजिकिस्तान र उज्बेकिस्तानलाई यस्तो नगरेको खण्डमा कारवाही गर्नेसमेत धम्की दिएका छन् ।

Advertisement

काबुलमा अफगान पाइलट र अफगान एयरफोर्सका कर्मचारीलाई सम्बोधित गर्दै पछिल्लो सरकार सत्ताबाट गएपछि छिमेकी मुलुकले जुन विमान लिएर गएका छन्, त्यो अफगानिस्ताको सम्पत्ति भएको र त्यसलाई छिटोभन्दा छिटो फर्काउनुपर्ने उनले माग गरेका छन् ।

मोहम्मद याकुब मुजाहिदले देश छोडेर नजाने अफगान वायुसेनाका पाइलट र इन्जिनियरलाई धन्यवाद दिँदै पछिल्ला महिना देश छोडेर गएकाहरुलाई फिर्ता आउन अपिलसमेत गरेका छन् । उनका अनुसार उनी एयरफोर्सलाई बलियो बनाउन चाहन्छन् जो विदेशी आर्थिक मद्दतमा निर्भर नहोस् र अफगानिस्तानको सीमाको सुरक्षा गर्न सकोस् ।

टोलो न्यूजमा छापिएको एक रिपोर्ट अनुसार अफगान रक्षा मन्त्रालयले अघिल्लो वर्ष अगस्टमा तालिबानको सत्तामा आएपछि ४० भन्दा बढी हेलिकोप्टर छिमेकी मुलुक ताजिकिस्तान र उज्बेकिस्तान लगिएको छ । हालसम्म ताजिकिस्तान र उज्बेकिस्तानका अधिकारीले यसबारे कुनै टिप्पणी गरेको छैन ।