April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

‘पुष्पाः द राइज’मा अल्लु अर्जुनको पारिश्रमिक ५० करोड

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘पुष्पाः द राइज’ले सिनेमा हलमा तहल्का मच्चाइरहेको छ।

Advertisement

प्रदर्शनको पहिलो सप्ताहान्तमा नै फिल्मले भारतमा मात्रै १ सय ४५ करोड भारतीय रुपैयाँभन्दा धरैको व्यापार गरेको छ भने विश्वभरको कमाई दुई सय करोड भारतीय रुपैयाँ भन्दा धेरै रहेको छ। भारतीय सञ्चामाध्यम हिन्दुस्तान टाईम्सकाअनुसार फिल्मले प्रदर्शनको पहिलो पाँच दिनमा नै दुई सय करोड भारतीय रुपैयाँ बराबरको व्यापार गरेको छ।

योसँगै भारतमा ‘स्पाइडर–म्यानः नो वे होम’ सँग रिलिज भएको फिल्मले मार्वल स्टुडियोको फिल्म स्पाइडर म्यानलाई पनि पछि पारेको छ।

हलमा सफल व्यापार गरिरहेको यो फिल्ममा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन मुख्य भूमिकामा छन्। अर्जुनले फिल्ममा अभिनय गर्नका लागि ५० करोड भारतीय रुपैयाँ बराबरको रकम लिएको खुलेको छ । फिल्ममा उनी ‘पुष्प राज’को भूमिकामा देखिएका छन्।

त्यस्तै, श्रीवल्लीको भूमिकामा देखिएकी अभिनेत्री रश्मिका मन्दनाले फिल्ममा अल्लु अर्जुनलाई साथ दिएकी छिन्। उनले भने ‘पुष्पाः द राइज’मा अभिनय गरेवापत ८ देखि १० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

फिल्मकी अर्की अभिनेत्री सामन्था रुथ प्रभुले एउटा गीतमा मात्रै अभिनय गरेकी छिन्। उनले ‘ओ अन्तावा’ बोलको आइटम गीतमा गरेको अभिनयका लागि मात्रै उनले १ करोड ५० लाख भारतीय रुपैयाँ पारिश्रमिक लिएकी छिन्।

त्यस्तै, फिल्मका डिरेक्टर सुकुमारले भने ‘पुष्पा’को निर्देशन गरेवापत २५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन्। फिल्मका अन्य कलाकार फहाद फासिल (भंवर सिंह शेखावत भूमिकामा)ले साढे तीन करोड भारतीय रुपैयाँ र अनसुया भारद्वाज (दक्षयानी भूमिकामा)ले प्रति दिन डेढदेखि दुई करोड रुपैयाँ पारिश्रमिक लिएका छन्।

‘पुष्पाः द राइज’ अल्लु अर्जुनको अभिनयमा एकै पटक विभिन्न पाँच भाषामा प्रदर्शन हुने पहिलो फिल्म हो। यो फिल्म तेलगु भाषामा मात्रै छायांकन भएको भएतापनि हिन्दी, तमिल, मलायलम र कन्नडमा डब गरि पाँच भाषामा प्रदर्शन गरिएको थियो । यो फिल्मको पहिलो भाग हो।