May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन गरिएका कारण देश अनिश्चित बाटोमा गइरहेको छ : पूर्वराष्ट्रपति यादव

काठमाडौँ– पूर्वराष्ट्रपति रामवरण यादवले असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएकाले देश अहिले अनिश्चित बाटोमा गइरहेको बताएका छन् ।

Advertisement

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएको बताए । सर्वोच्च अदालत अहिले सबै लोकतन्त्रवादीहरुको आशा, भरोसा र विश्वासको केन्द्रको रुपमा रहेकाले अदालतले संसद पुनस्थापना गर्ने उनको विश्वास छ ।

प्रतिनिधिसभामा ३ करोड नेपाली जनताको प्रतिनिधि बस्ने भन्दै उनले प्रतिनिधिसभालाई विघटन गरेर लोकतन्त्रलाई आघात पुर्याउने काम गरिएको बताए ।‘लोकतन्त्रलाई कसरी प्रयोग गर्ने ? यसको कसरी सुधार गर्ने ? यी सब कुराको प्रयोग नगरी आज त्यो संस्थालाई बिदा गरेर लोकतन्त्रलाई आघात पारिएको छ,’ पूर्व राष्ट्रपति यादवले भने, ‘राष्ट्रको हितको, राष्ट्रको दूरगामी प्रभावलाई विचार नगरी कार्यकरीणीले त्यो कदम चाल्नुभयो ।’

उनले लोकतन्त्रको रक्षाका लागि सबै सजग हुन जरुरी रहेको पनि बताए । ‘हामी सबैले सजग भएर नियालौ ।सवै मिले भने सवै कुराको समाधन हुन्छ’, यादवको सुझाव छ । उनले राष्ट्रियय शक्तिहरु विभाजित बने लोकतन्त्र फुत्कने भन्दै त्यसलाई सही ट्रयाकमा ल्याउन जरुरी रहेको पनि धारणा राखे । पूर्वराष्ट्रपति यादवले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले बीपी कोइरालाको मेलमिलापको नीति झनै सान्दर्भिक बन्दै गएको बताए।