यी महिला ४० वर्षदेखि निदाएकी छैनन्

हामी कतिबेरसम्म नसुतिकन बस्न सक्छौं ? अधिकतम २४ घण्टा ? यो पनि धेरैले सक्दैनन् । तर एक महिलाले आफू विगत ४० वर्षदेखि नसुतेको दाबी गरेकी छन् । चीनकी यी महिलाको यो दाबी चिनियाँ मिडियाले प्रकाशित गरेका छन् ।

Advertisement

चीनको हेनान प्रान्तकी ली झानयिङ्गले आफू ४० वर्षदेखि नसुतेको दाबी गरेकी हुन् । उनको यो दाबीलाई उनका श्रीमान् र छिमेकीले पुष्टि गरेका छन् । आफू ५ वा ६ वर्षको हुँदा अन्तिम पटक निदाएको उनलाई स्मरण छ । अहिले उनी ४५–४६ वर्ष पुगिसकेकी छिन् तर निद्रा लीका लागि पुरानो स्मृति बनेको छ । ली आफ्नो समुदायका लागि एक सेलिब्रिटीजस्तै बनेकी छिन् ।

दिउँसो र रातैभरी नसुतिकन बस्न सक्ने भएकोले उनलाई धेरैले ‘अचम्मको व्यक्ति’ को रुपमा हेर्ने गर्छन् । अडिटी सेन्ट्रलका अनुसार केही वर्षअघि उनको दाबी परीक्षण गर्न उनका केही छिमेकीले रातको समयमा तास खेल्न उनलाई चुनौती दिए, चुनौती दिनेमध्ये कोही घर गए भने कोही त्यतै निदाए तर उनी भने जागा भइरहिन् ।

लीका श्रीमान् लिउ स्वोक्विनले पनि उनकी श्रीमती फिटिक्कै ननिदाउने कुराको पुष्टि गरे । विवाह भएदेखि नै श्रीमतीले दिनभरी, रातभरि घरको काम गरिरहने उनले देखे । लिउ चकित भए र श्रीमतीलाई यसबारे सोधे पनि । लीले आफ्ना श्रीमानलाई आफू निदाउनै नसक्ने कुरा पनि बताइन् ।

त्यसैले उनका श्रीमानले श्रीमतीलाई निद्रा नलाग्ने केही समस्या भएको होला भन्दै निद्रा लाग्ने औषधि किनेर ल्याइदिए तर त्यसले पनि काम नगरेको उनले बताए । बास्टिल पोस्टकाअनुसार लि झानयिङ्ले यसका लागि थुप्रै पटक अस्पताल पनि धाइन् तर डाक्टरले शंका गर्नुपर्ने खालको कहिल्यै केही भेटेनन् ।

यद्यपि, बेइजिङको मेडिकल सेन्टरमा गएपछि भने उनको दशकौँ लामो समस्यामा अन्ततः बिराम लागेको छ । डाक्टरको एउटा समूहले उनलाई उन्नत सेन्सर प्रयोग गरेर ४८ घण्टासम्म निगरानी गरे । निगरानीपश्चात् थाहा भयो कि उनी खासमा निदाउन त निदाउँछिन् तर अरु जसरी भने निदाउँदिनन् ।

४८ घण्टासम्म गरिएको ब्रेनवेभ निगरानीको क्रममा संकलन गरिएका तथ्याङ्कले ली सामान्य मानिसझैं आँखा बन्द गरेर बेडमा लम्पसार परेर पल्टिएका बेला मात्रै निदाउँदिनन्, उनी श्रीमानसँग कुरा गरिरहेका बेला पनि निदाइरहेको हुने पत्ता लाग्यो । डाक्टरले उनको यो अवस्थालाई ‘उठिरहेका बेला पनि निदाउने’ नाम दिए । यतिबेला लीका केही स्नायु र अंग सक्रिय नै रहेको पाइयो ।

डाक्टरका अनुसार लीलाई वास्तवमा उनकै दिमागले धोका दिएको थियो । जब उनी आराम गरिरहेकी हुन्थिन्, उनको शरीरका केही अंग निष्क्रियतामा प्रवेश गरिसकेका हुन्थे तर यसका लागि उनलाई आफ्नो आँखा बन्दै गर्नुपर्ने आवश्यकता भने थिएन ।

आफ्नो शरीर र मष्तिष्कलाई आराम दिने आफ्नो असामान्य तरिकाका कारण लीलाई लाग्यो कि उनी ४० वर्षदेखि निदाएकी नै छैनन् । उनी हरेक दिन आँखा चिम्लेर १० मिनेटभन्दा बढी समय बिताउँदिनन् त्यसैले उनी प्राविधिक रुपमा सही पनि छिन् ।