वीरेन्द्र अस्पतालमा मिर्गौला रोगीको निःशुल्क हेमोडाइलासिस

काठमाडौं, । काठमाडौं महानगरपालिका र नेपाली सेनाको सहकार्यमा वीरेन्द्र अस्पताल छाउनीमा मिर्गौला रोगीको हेमोडाइलासिस सेवा निःशुल्क सुरु भएको छ । कामपा–१५ निवासी ६४ वर्षीया चन्द्रदेवी महर्जन पहिलो सेवाग्राही भएकी छन् । पहिलोपटक मंगलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यले उपकरण सञ्चालन गरेर सेवा सुरु गरेका थिए । यस प्रकारको सेवा सञ्चालन गर्न २ पुसम नेपाली सेना र कामपाबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सो सम्झौताअनुसार आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि महानगरले नेपाली सेनालाई तीन करोड उपलब्ध गराउने छ । महानगर प्रमुख शाक्यले सेवा सुरु भएपछि महानगरले अवलम्बन गरेको जनस्वास्थ्य नीति तथा योजनाअनुसार उपचारात्मक पद्धतिसँगै प्रवद्र्धनात्मक स्वास्थ्य कार्यक्रम अघि सारिएको बताए । एम्बुलेन्समा चढेका बिरामीले तत्काल प्राथमिक र आकस्मिक सेवा पाउन् भनेर नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरेको पनि उनको भनाइ थियो । शहरी पूर्वाधार निर्माण तथा विकास व्यवस्थापन र सम्पदा संरक्षणसँगै मानवीय सेवाका काममा निरन्तर सहयोग गरिरहेको बताउँदै उनले भने, ‘अस्पतालमा गरिब र निमुखा जनताले सरल सेवा प्राप्त गर्न सकुन् भन्ने हेतुले हामीले स्वास्थ्य सेवा सञ्चालन गरिरहेका अस्पतालहरुसँग सहकार्य गरेका हौँ ।’ सम्झौताबमोजिम मिर्गौला बिरामीका लागि हेमोडाइलासिस सेवासँगै वीरेन्द्र अस्पताल छाउनीबाट महानगरवासी ज्येष्ठ नागरिकका लागि ओपीडी सेवा, आपतकालीन स्वास्थ्य सेवा बढाउँदै लगिने जनाइएके छ । थप उपकरण र जनशक्तिको व्यवस्थापन हुनुअघि पहिलो चरणमा महानगरको वडाबाट विपन्नताको र जनस्वास्थ्य महाशाखाबाट उपचारको सिफारिस प्राप्त गरेका बिरामीलाई अस्पतालबाट हेमोडाइलासिस सेवा उपलब्ध हुनेछ । हाललाई अस्पतालमा भएकै स्रोत साधनबाट एक सिफ्ट थप गरी प्रति दिन ९ देखि १२ जना बिरामीका लागि हेमोडाइलासिस सेवा दिइने सकिने जनाइएको छ । महानगरले शहरी स्वास्थ्य क्षेत्रको प्रवद्र्धनका लागि अन्य स्वास्थ्य संस्थाहरुसँग पनि सहकार्य गरिरहेको छ । रगतमा भएका तत्व छुट्याउने प्रणाली जडान गर्न कान्ति अस्पतालसँग यसअघि सम्झौता भइसकेको छ भने अक्सिजन प्लान्ट स्थापना गर्न गङ्गालाल हृदय रोग केन्द्रसँग सम्झौता गर्ने तयारी कामपाको छ ।

Advertisement