May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

कर्मचारीलाई कोरोना : मालपोत कार्यालय अनिश्चितकालका लागि बन्द

कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएपछि मालपोत कार्यालय बागलुङको सेवा बन्द गरिएको छ । कार्यालयका चार कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा समेत कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि कार्यालयको अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको हो ।

Advertisement

कर्मचारीहरु आइसोलेसनमा रहेको हुँदा कार्य सम्पादनका लागि जनशक्ति अभाव भएको भन्दै मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले आइतबार एक सूचना जारी गर्दै अनिश्चितकालका लागि कार्यालयको सेवा बन्द गरिएको जानकारी गराउनुभएको हो ।

बलेवाको बन्जी खेल्न खोप कार्ड चाहिने

कोरोना सङ्क्रमण बढ्दै गएपछि साहसिक खेलको गन्तव्य बन्दै आएको बलेवा कुस्मा बन्जी खेलका लागि खोप कार्ड चाहिने भएको छ । कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) सङ्क्रमण ह्वात्तै बढेपछि बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै दोस्रो अग्लो बन्जी जम्प खेल्नका लागि खोप कार्ड अनिवार्य गरिएको हो ।

कोरोनाकालमै गत वर्षदेखि सञ्चालनमा आएको बन्जी जम्पमा केही समय अगाडिसम्म दैनिक सयौँ पर्यटकहरु बन्जी जम्प गर्न र घुम्न आउने गर्थे भने अहिले दैनिक एक दर्जन पुग्न पनि गाह्रो भइरहेको छ । द क्लिफ प्रालिको झन्डै रु २८ करोड लगानीमा सञ्चालनमा आएको बन्जीसँगै स्विङ र जिपलाइन पनि प्रभावित बनेको छ ।

दोस्रो चरणको सङ्क्रमणपछि बन्जीमा पर्यटकहरुको आकर्षण बढेको र व्यवसाय पनि रामै्र सञ्चालन भए पनि तेस्रो चरणको सङ्क्रमणका कारण पुनः समस्यामा परेको बन्जी जम्प सञ्चालन गर्दै आएको द क्लिफ प्रालिका सञ्चालक राजु कार्कीले जानकारी दिनुभयो ।

उहाँले बन्जी, स्विङ र जिपलाइनका लागि अनिवार्य खोप कार्ड चाहिने बताउनुभयो । वारपार गर्नका लागि भने कार्ड अनिवार्य छैन । आफूहरुले स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइ गरेको भन्दै कार्कीले बन्जी खेल्न खोप कार्ड चाहिने र पुलमा प्रवेश गर्नुअघि ज्वरो नाप्ने र स्यानिटाइजिङ गर्ने गरेको बताउनुभयो ।

कार्कीले कोरोनाका कारण आफूहरु ठूलो मारमा परेको बताउनुभयो । बन्जी जम्प झन्डै पाँच वर्षको अवधिमा निर्माण सम्पन्न भएको थियो । सञ्चालनमा आएपछि सङ्क्रमणका कारण एक वर्ष पनि सहजरूपमा सञ्चालन गर्न नसकेको कार्कीको भनाइ छ ।

उहाँले हाल स्काई साइक्लिङ र जिपलाइनसमेत सञ्चालनमा आएको भन्दै सङ्क्रमणका कारण प्रभावित भएको बताउनुभयो । बन्जी जम्प सञ्चालनमा आएपछि बागलुङको बलेवा र पर्वतको कुश्मामा होटेल व्यवसायसमेत फस्टाउँदै आएको छ । कोरोनाको त्रासले विस्तारै पर्यटकहरु घट्दै गएका छन् ।