२३ बालबालिका बन्धक बनाएर करोडौ फिरौती माग्ने सुभाष बाथमको प्रहरी मुठभेडमा मृत्यु

काठमाडौं। भारतको उत्तर प्रदेशको फर्रुखाबाद जिल्लास्थित मोहम्मदाबाद कस्बेमा २३ बालबालिकालाई बन्धक बनाउने सुभाष बाथमको मुठभेडमा मृत्यु भएको छ । कानपुर परिक्षेत्रका प्रहरी महानिरीक्षक मोहित अग्रवालका अनुसार अपहरणकारी सुभाषको प्रहरी मुठभेडमा मृत्यु भएको छ भने सबै २३ बालबालिकालाई उद्धार गरिएको छ।बन्धक बालबालिकालाई मुक्त गराउन एटीएसको कमाण्डो बोलाइएको थियो भने प्रहरीको थुप्रै अधिकारीहरु पनि घटनास्थलमा परिचालन भएका थिए । यस क्रममा केही प्रहरी भने घाइते भएका छन् । प्रहरीलाई देख्ने बित्तिकै सुभाषले फायरिंग सुरु गरेको र बम प्रहार गरेको प्रहरीको दाबी छ ।

मोहम्मदाबाद तहसीलको करसिया गाउँको जुन घरमा बच्चाहरुलाई बन्धक बनाएर राखिएको थियो, त्यो घर सुभाष बाथमकै थियो । पुलिसका अनुसार सुभाष बाथम निकै चलाख किसिमका अपराधी थिए र उनी थुप्रै पटक जेल पनि गइसकेका थिए । उनीमाथि हत्याको मुद्दा पनि चलिरहेको थियो ।
मोहित अग्रवालका अनुसार अपहरणकारीले प्रति बालक एक करोड रुपैयाँ फिरौती माग गरेका थिए । यसका साथै उनले आफूमाथि लागेको हत्याको आरोप पनि फिर्ता लिनुपर्ने माग राखेका थिए । अघिल्लो रात उनले एक बालकलाई रिहा पनि गरेका थिए ।

Advertisement