इराकस्थित अमेरिकी दूतावास परिसरमा रकेट आक्रमण

एजेन्सी । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावासलाई लक्षित गरी रकेट आक्रमण भएको छ । संदिग्ध आतंकवादी समूहहरूले बिहीबार रकेट आक्रमण गरेको जनाइएको छ ।

Advertisement

रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् । दूतावासले ट्विटमार्फत यसको जानकारी दिएको छ ।
’आज साँझ अमेरिकी दूतावास परिसरमा इराकको सुरक्षा, सार्वभौमसत्ता र अन्तरराष्ट्रिय सम्बन्धलाई कमजोर पार्ने प्रयास गर्ने आतंकवादी समूहले आक्रमण गरेको थियो,’ दूतावासले ट्विट गरेको स्पुतनिक न्यूजले जनाएको छ ।

यसबाहेक, इराक सुरक्षा बलहरूले रकेटहरू बगदादको दक्षिणी क्षेत्रबाट प्रहार गरिएको र तथाकथित् ग्रीन जोनलाई निशाना बनाइएको जनाएका छन् । उक्त क्षेत्रमा कूटनीतिक नियोगका प्रशासनिक भवनहरू र अमेरिकी दूतावाससहित अन्य दूतावासहरू रहेका छन् ।

अमेरिकी दूतावासलाई नियमित रूपमा इराक र सिरियामा आक्रमणको शृङ्खलामा मिसाइलहरूद्वारा निशाना बनाइएको छ, जसमा इराकको ऐन अल–असद एयरबेस र सिरियाको ग्रीन भिलेज बेसनजिकै अप्रत्यक्ष रकेट आक्रमणहरू हुने गरेका छन् ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको कुलीन कुड्स फोर्सका कमाण्डर कासिम सुलेमानीको हत्याको दोस्रो वर्षगाँठ अघि र पछि हाल आक्रमणहरू तीव्र पारिएका छन् ।