रेडियो अन्तर्वार्ता लिएर पत्रकार निरौलाले राखे विश्व कीर्तिमान

काठमाडौं । नेपाली रेडियो इतिहासमा विश्वकै लामो रेडियो अन्तर्वार्ताको विधाबाट सोलुखुम्बुको हिमाल एफएमका पत्रकार भानुभक्त निरौला र पर्यटनविद् आङ्फिन्जो शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । पत्रकार निरौला र पर्यटनविद् शेर्पाले सोलुखुम्बुबाट सञ्चालित हिमाल एफएमबाट २५ घण्टा २६ मिनेट लामो रेडियो अन्तर्वार्ता लिएर यसअघि अस्ट्रेलियामा भएको रेकर्ड ब्रेक गर्दै नेपालको तर्फबाट विश्व रेकर्ड कायम गरेका हुन् ।

Advertisement

पर्यटन र जनवायु परिर्वतनका असर विषयमा विश्वकै लामो रेडियो अन्तर्वार्ता गएको कात्तिक २२ गते सोमबार बिहान ७ : ३५ बजे सुरु भई कात्तिक २३ गते मंगलबार बिहान ९ : ०१ बजेसम्म लगातार २५ घण्टा २६ मिनेट हिमाल एफएमको शाखा स्टुडियो काठमाडौँबाट प्रशारण गरिएको थियो ।

निरौला र शेर्पाले पेस गरेको दाबीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले सोमबार मान्यता दिँदै आफ्नो वेभसाईटमा अस्ट्रेलियाको अभिलेख हटाएर नेपालको राखेको छ । यसअघि विश्वको लामो रेडियो अन्तर्वार्ता सन् २०११ मा अस्ट्रेलियाका पत्रकार रिचर्ड ग्लोभरको नाममा खेलविज्ञ पिटर फिट्ज्मिन्ससँग रेडियो ७०२ एबिसी सिड्नीमा खेल क्षेत्रको विषयमा २४ घण्टा समयसम्म लिइएको रेकर्ड थियो ।

सोलुखुम्बुका पत्रकार निरौलासँग पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर तह पूरा गरी रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा काम गरेको अनुभव छ भने पर्यटनविद् शेर्पासँग पर्यटन र वातावरण संरक्षण विषयमा सामाजिक क्षेत्रमा लामो समयको कार्य अनुभव रहेको छ ।