May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

भारतमा बर्डफ्लुको महामारी

काठमाडौं । भारतमा बर्ड फ्लुको प्रकोप निरन्तर बढ्दै गएको छ । भारतका ९ वटा राज्यमा बर्ड फ्लुको संक्रमण देखिएको छ भने केही राज्यमा भने परीक्षणको नतिजा आउनै बाँकी छ ।

Advertisement

भारतको दिल्ली र महाराष्ट्रमा पनि बर्ड फ्लुको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । बर्ड फ्लुको संक्रमण देखिएसँगै नयाँ दिल्लीको गाजिपुर होलसेल कुखुराको बजार बन्द गरिएको छ । दिल्लीमा बर्ड फ्लुको कारण दुई सय चरा मरेका थिए । जसमध्ये अधिकांश काग थिए ।

बर्ड फ्लुको संक्रमण देखिएसँगै मानिसहरुलाई पोखरी, तालतलाउ तथा वन्यजन्तु आरक्षण क्षेत्रमा मानिसहरुलाई भ्रमण गर्न पनि रोक लगाइएको छ ।

पछिल्लो दुई दिनमा कम्तीमा आठसय कुखुराहरु मरेको महाराष्ट्रका अधिकारीहरुले बताएका छन् । मरेका कुखुराको नमुना संकलन गरी परीक्षण गराउँदा बर्ड फ्लुको संक्रमण पुष्टि भएको पवर्नी जिल्लाका कलेक्टर मधुकर मगलीकरले बताए ।

आइतबार उत्तर प्रदेशको कानपुर सहरमा रहेको एक चिडियाखाना चरा र दुई सुँगा मरेपछि सो चिडियाखाना बन्द गरिएको थियो । यससँगै उत्तर प्रदेशले उक्त चिडियाखानाको १० किलोमिटर वरिपरीको क्षेत्रमा मासुको व्यापारमा समेत रोक लगाएको छ । उत्तर प्रदेशको भोपालबाट पनि मरेका कागको नमुना परीक्षणको लागि पठाइएको छ । त्यस्तै मध्यप्रदेशको सात सहरमा पनि कुखुराको व्यापारमा रोक लगाइएको छ ।