क्लिन फिडको कूटनीति

विज्ञापन विधेयकमा राखिएको क्लिन फिडसम्बन्धी प्रावधानको पक्ष र विपक्षमा बहस भइरहे पनि यो व्यवस्था तत्काल लागू हुने छाँट देखिन्न ।

Advertisement

काठमाडौँ — संसद्मा विचाराधीन विज्ञापनसम्बन्धी विधेयकमा क्लिन फिड लागू गर्ने व्यवस्था राखिएको भन्दै यसको पक्ष र विपक्षमा बहस भइरहे पनि विधेयक पारित हुने बित्तिकै कार्यान्वयन भने हुने छैन । सरकारले विधेयकमा क्लिन फिडसम्बन्धी व्यवस्था राखेपछि राजपत्रमा सूचना प्रकाशित भएपछि मात्रै यसको कार्यान्वयन हुनेछ ।

क्लिन फिड लागू गर्न सरकारले अघिल्लो वर्ष पनि सूचना प्रकाशित गरेको थियो तर अन्तिम अवस्थामा आएर यसको कार्यान्वयन रोकियो । सरकारले तत्काल क्लिन फिड लागू नगर्न विधेयकमा घुमाउरो बाटो रोजेको सरोकारवाला बताउँछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक अधिकारीका अनुसार विधेयक लागू भएपछि माहोल हेरेर मात्रै क्लिन फिड नीति कार्यान्वयन गर्न यो प्रावधान राखिएको हो ।

केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएको बेला २०७३ साउन ७ मा मन्त्रिपरिषद्ले विदेशी टेलिभिजन च्यानलले नेपालमा विज्ञापन प्रसारण गर्न नपाउने गरी क्लिन फिड लागू गर्ने निर्णय गरेको थियो । सरकारले राष्ट्रिय आमसञ्चार नीति २०७३ स्वीकृत गर्दै २०७४ साउन १ गतेदेखि क्लिन फिड लागू गर्ने निर्णय गरेको थियो । भारतीय नाकाबन्दीलगत्तै सरकारले नेपालमा प्रसारण हुने भारतीय टेलिभिजन प्रभावित हुने गरी क्लिन फिड नीति ल्याएपछि त्यसलाई अर्थपूर्ण रूपमा हेरिएको थियो ।