प्रहरीद्वारा पत्रकारमाथि निर्घात कुटपिट

सिन्धुली — पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) लाई सादा पोसाकमा रहेका प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । कमलामाइ नगरपालिका ७ को माझीटारको होटलमा खाजा खान लाग्दा शानिबार साँझ ती सादा पोसाकमा रहेका प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । सख्त घाइते अध्यक्ष कार्कीलाई काठमाडौं लगिएको छ ।

उनको न्यूरो अस्पतालमा उपचार भइरहेको छ। अध्यक्ष कार्कीको टाउकोमा गहिरो चोट लागेको छ। खाजा खान बसेको स्थानमा सादा पोसाकमा आएका सलामसिङ तामाङ र प्रहरी जवान विकास सिङ स्याङ्तानले मोबाइलबाट भिडियो रेकर्ड गर्न थालेपछि नगर्न भन्दा कुटपिटमा उत्रिएका थिए।
महासंघका पूर्वअध्यक्ष मिनकुमार दाहाललाई पनि ती प्रहरीले कुटपिट गरेका छन्। उनी सामान्य घाइते छन्। पूर्वअध्यक्ष दाहालका अनुसार हेलमेटले टाउकोमा प्रहार गरेपछि अध्यक्ष कार्की बेहोस भएर ढलेका थिए। प्रहरीहरु मोटरसाइकल छोडेर भागेका थिए।

प्रहरी उपरीक्षक चक्रबहादुर सिङका अनुसार ती दुवै प्रहरीलाई नियन्त्रणमा लिइएको छ। उनीहरुले रेकर्ड गरेको भिडियोसमेत बरामद भएको आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको छ।
पत्रकारहरुमाथि प्रहरीले आक्रमण गरेको विषयलाई लिएर पत्रकार महासंघ शाखा आन्दोलित भएको छ।

Advertisement