कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणको प्रश्न- सरकार लम्पसार परेको हो ?

काठमाडौँ — नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले लम्पसार परेको हो भन्दै प्रतिप्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार विशेष समयमा बोल्दै नेता खाँणले सरकारले विषादीयुक्त तरकारीहरू भन्सारबाट आउन नदिने निर्णय गरेको केही दिनमै लम्पसार परेर फिर्ता गरेको आरोप लगाए ।

Advertisement

उनले सरकारले लम्पसारवादी नीतिलाई अगाडी बढाएको आरोप लगाए। भने,’ शक्तिहरूको सामु सरकार निरीह र लम्पसार बनेको छ।’

संविधानमा खाद्य सुरक्षाको अधिकार उल्लेख भए अनुसार सरकारले अखाद्य वस्तुको नियन्त्रण गर्ने कदमलाई आफूहरुले समर्थन गरे पनि उक्त निर्णय केही दिनमै सरकार लम्पसार परेर फिर्ता लिएको नेता खाँणको भनाइ छ। उनले सरकारले नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गरेको र यसले गम्भीर स्वास्थ्य चिन्ह खडा गरेको बताए।

नेता खाँणले अखाद्य पदार्थहरु छ्याछ्याप्ती भएको भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण गराए। उनले भने,’किन घुँडा टेकेर रोकेको कुरा खोल्नुभयो? सरकारले यसको जवाफ दिनुपर्छ। ‘
उनले संविधान प्रतिकल हुने गरी कुनै पनि विधेयक आफ्नो पार्टीले बन्न नदिने बताए। उनले सरकारले संविधान प्रतिकल अघि बढाएका विधेयकहरु फिर्ता गर्नुपर्ने नबताए।

यस्तै प्रमुख सचेतक खाँणले सरकारले सांसदका सदस्यहरूले बोलेका कुराहरूलाई गम्भीरतापूर्वक नलिएको बताए। सरकारले सदन र सभामुखको अवहेलना गरेको नेता खाँडको भनाइ छ।
उनले सभामुखले रुलिङ गरेको र सङ्घीय संसद्ले उठाएको विषयहरुमा सरकारलाई गम्भीर बन्न आग्रह गरे।

यस्तै नेता खाँणले सरकारले नागरिकको हत्या गरिरहेको आरोप लगाए। उनले सर्लाहीमा घटनामा सरकारले वैधानिक प्रक्रिया मिचेर मुठभेडको नाममा टाउकोमा गोली हानेर कुमार पौडेलको हत्या गरेको आरोप लगाए।

यस्तै बाँकेमा पनि प्रहरीले शान्तिपूर्ण रूपमा धर्नामा बसेकाहरुलाई टाउकोमा गोली ताकाताकी हत्या गरेको नेता खाँणले दाबी गरेका छन्। उनले यी घटनाहरुबारे गृहमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने बताए।