सिमकोट हवाई मैदानको हिउँ पञ्छ्याइँदै

हुम्ला जिल्लामा तीन दिनसम्मको हिमपातबाट सिमकोट हवाई मैदानमा जमेको हिउँ पञ्छ्याइँदै कार्य जारी रहेको छ ।

Advertisement

सिमकोट हवाई उड्डयन कार्यालयको ट्र्याक्टरले आजदेखि हवाई मैदानको हिउँ फाल्ने कार्य गरिरहेको उक्त कार्यालयले जानकारी गराएको छ । यस वर्ष यहाँ तीन फिट हिउँ जमेको छ । यो हिमपात यस वर्षको सबैभन्दा धेरै हो । उक्त हवाई मैदानमा हिउँ जमेकाले सबैभन्दा पहिला सिमकोटका सरकारी कार्यालय तथा गैरसरकारी संस्थाका कर्मचारीले हिउँ फाल्ने कार्य गरेका थिए ।

त्यसपछि बाँकी रहेको हिउँ आज कार्यालयको ट्र्याक्टरले फाल्न थालेको छ । सदरमुकाम सिमकोटमा जताततै हिउँले सेताम्मै भएको हुनाले सिमकोट तथा बाहिरी जिल्लाको आवतजावत ठप्प भएको छ ।

त्यस्तै उत्तरी भेगको नाम्खा गाउँपालिकामा भने एक गाउँदेखि अर्को गाउँ जानसमेत कठिनाइ भएको स्थानीयवासी तेञ्जिङ लामाले फोनबाट जानकारी गराउँदै उक्त ठाउँमा छ फिट हिउँ जमेको बताउनुभयो ।

हुम्ला जिल्लाको यातायात र हवाई सेवा पनि तीन दिन लगातार हिउँ परेपछि बन्द छ । हुम्ला जिल्लाको उत्तरी भेगमा रहेको हिल्सा नाकामा भारी हिमपात भएपछि सिमानामा खटिएका सशस्त्र प्रहरी बलको टोलीलाई खानेपानीको समस्या भएको छ । उनीहरुले कर्णाली नदीबाट पानी आपूर्ति गरेका सशस्त्र प्रहरी बलका निरीक्षक पूर्णबहादुर चन्दले फोनबाट जानकारी गराउनुभयो ।