लालबन्दीका घरघरमा कोरोना खोप अभियान

लालबन्दी नगरपालिकाले आफ्नो नगरभित्रका घरघरमा कोरोनाविरुद्ध खोप अभियान सुरु गरेको छ । कोरोना भाइरसविरुद्ध नेपाल सरकारले थालेको खोप अभियानअन्तर्गत नगरपालिकाले नगरभित्रका हरेक घरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा आजदेखि सुरु गरेको हो ।

Advertisement

सङ्घीय सरकार, मधेश प्रदेश सरकारको विशेष सहयोग र बागमती सेवा समाज तथा ‘आड्रा’ नेपालको समन्वयमा नगरभित्रका हरेक घरघरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा सुरु गरिएको नगर प्रमुख मानबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार जिल्लाका लालबन्दी, हरिवन र हरिपुर नगरपालिकाले पहिला पनि जिल्लाका २० स्थानीय निकायको तुलनामा सबैभन्दा बढी खोप लगाएको र अहिले पनि जिल्लामा पहिलो पटक लालबन्दीले यो अभियान सुरु गरेको हो ।

नगरभित्रका खोप केन्द्रमा आउन नसक्ने गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा शारीरिक रुपमा फरक क्षमता भएका नागरिकलाई घरमै पुगेर कोरोनाविरुद्धको पहिलो खोप लगाउने अभियानकोे आज नगर प्रमुख खड्का र बागमती सेवा समाजका अध्यक्ष भरत कार्कीले एकैसाथ उद्घाटन गर्नुभएको हो ।

सर्लाहीमा वर्षाका कारण ३५ करोडको इँटा नष्ट

विगत दुई दिनको वर्षाका कारण यहाँका इँटा व्यवसायी मारमा परेका छन् । लगातारको वर्षाले जिल्लाका इँटा व्यवसायीमा ठूलो क्षति पु¥याएको उनीहरुको गुनासो छ । दुई दिन परेको वर्षाले जिल्लामा रहेका इँटा उद्योगमा करोडौँ मूल्यका इँटा नष्ट भएको तारा इँटा उद्योगका सञ्चालक प्रकाश थपलियाले बताउनुभयो ।

उहाँका अनुसार पानीले इँटा उद्योगमा चाङ लगाएर राखिएका काँचो इँटा भिजेर नष्ट भएको छ । जिल्लामा रहेका ९३ इँटा उद्योगमा वर्षाले करिब रु ३५ करोड मूल्य बराबरको क्षति पुगेको सर्लाही इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष मेथुर चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा रहेका ९३ उद्योगमध्ये ८४ इँटा उद्योग हाल सञ्चालनमा रहेका छन् ।