आठ सय मिटर लामो झोलुङ्गे पुल निर्माण

इलामको दक्षिणी क्षेत्र माई नगरपालिका– ६ को बिहीबारे र वडा १ को घण्टे जोड्ने झोलुङ््गे पुलको निर्माण सम्पन्न भएको छ । आठ सय २० मिटर लामो झोलुङ््गे पुलको निर्माण सम्पन्न भएको हो । नेपालमा निर्माण भएकामध्ये दोस्रो लामो झोलुङ््गे पुल रहेको बताइएको छ ।

Advertisement

पुल निर्माणपछि केही दिनमा नगरपालिकालाई हस्तान्तरण गरिने जनाइएको छ । झोलुङ्गे पुल निर्माणपछि माइखोला वारपार गर्न सहज भएको छ । यसअघि महाकालीको दोधारा–चाँदनी जोड्ने एक हजार ४५२ मिटर लामो पुल बनेको थियो ।

स्थानीय पूर्वाधार विभाग सस्टेन्सन ब्रीज डिभिजनका इञ्जिनीयर उपेन्द्र देवकोटाले त्रिवेणी सुस्तामा एक हजार ५७२ मिटर लामो झोलुङ््गे पुल निर्माण हुने जानकारी दिनुभयो । यस्तै सिन्धुलीमा कमलामाईमा समेत यस्तै पुलको डिजाइन गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभागबाट रु आठ करोड २० लाखमा पुलको निर्माण सम्पन्न भएको हो ।

निर्माण कम्पनी थानी हिमशिखर जेभीले निर्माण अवधिको छ महिना अगाडि नै पुल निर्माण सम्पन्न गरिएको देवकोटाले जानकारी दिनुभयो । सात पिलरसहित निर्माण गरिएको यो झोलुङ््गे पुलमा चार टावर रहेका छन् । माई खोलामा पुल निर्माण भएपछि माई– १ को घण्टेदेखि लिएर देउमाई नगरपालिका जितपुरसम्मका बासिन्दालाई आवतजावत् गर्न सहज भएको छ ।

बिरामीलाई अस्पताल लैजान र विद्यार्थीलाई विद्यालय जान मद्दत पुगेको स्थानीयवासी प्रेमबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार यो पुलले स्थानीयवासीलाई इलाम सदरमुकाम जानसमेत सहज भएको छ । यो क्षेत्रमा पुल नहुँदा गत वर्ष मात्र तीन विद्यार्थीलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो ।