देउवा र प्रचण्डलाई अमेरिकाको पत्र : अब प्रतिबद्धता अनुसार एमसीसी अगाडि बढाउनुस्

अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न नेपाल सरकारलाई समयसीमा दिएको छ ।

नेपालमा एमसीसी कार्यान्वयनको विषयमा सत्ता गठबन्धनभित्र तीव्र मतभेद भइरहेका बेला अमेरिकाले भने फागुन १६ गतेभित्र एमसीसी संसदबाट अनुमोदन गरिसक्न पत्राचार गरेको हो ।

Advertisement

अमेरिकी सरकारको सहायता परियोजना एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृतले ३ फेब्रुअरीमा नेपाललाई पत्र लेख्दै एमसीसी सम्झौता कार्यान्वयनका लागि अमेरिकाले लामो समय कुर्न नसक्ने प्रष्ट पारेका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका अर्का नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त पत्र पठाउँदै एमसीसी कार्यान्वयनका विषयमा छिटो टुंगोमा पुग्न भनेका छन् ।

एमसीसीले पठाएको पत्र भने सरकारले गुपचुप राख्न खोजेको थियो । सत्ता गठबन्धनका दलहरूबीच पनि पत्र सार्वजनिक गरिएको छैन ।  प्राप्त जानकारी अनुसार फेब्रुअरीभित्र एमसीसी संसदबाट अनुमोदन भइसक्नुपर्ने अमेरिकाले प्रष्ट भनेको छ ।

१३ असोज (२९ सेप्टेम्बर) मा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी बोर्डलाई पत्र पठाउँदै एमसीसी संसदबाट अनुमोदनका लागि चार/पाँच महिनाको समय मागेका थिए । दुवै नेताले पत्रमा पाँच महिनामा एमसीसीका पक्षमा सत्ता गठबन्धनमा आवद्ध दलहरूसँग सकारात्मक छलफल गर्ने र एमसीसी अनुमोदनका लागि वातावरण बनाउने प्रतिबद्धता जनाएका थिए ।

एमसीसीका बारेमा जनस्तरमा सकारात्मक वातावरण सिर्जना गर्ने दुई नेताको प्रतिबद्धताप्रति प्रशंसा गर्दै एमसीसीले अब संसदबाट अनुमोदन गर्ने समय आएको जनाएको हो ।