दुई लाख ८२ हजार ७२४ जनाले लगाए बुस्टर डोज

काठमाडौं । नेपालमा सरकारले दिन थालेको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) दुई लाख ८२ हजार ७२४ जनाले लगाएका छन् । सरकारले माघ २ गतेदेखि अग्रपंक्तिमा खटिनेहरुलाई कोरोनाविरुद्धको बुस्टर डोज दिन सुरु गरेको थियो।

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच लाख ५४ हजार ५६६ जनाले कोरोनाविरुद्धको खोप लगाका छन्। मन्त्रालयका अनुसार एक करोड ३७ लाख ३४ हजार ३९० जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन्।

साथै एक करोड ६४ लाख ५८ हजार ४७५ जनाले एक मात्रा खोप लगाएका छन्। बुधबार दुई लाख ५६ हजार ४१६, मंगलबार दुई लाख ३९ हजार ८५१, सोमबार एक लाख १९ हजार ३७१ र आइतबार ४९ हजार ४७३ जनाले कोरोनाविरुद्धको खोप लगाएका थिए।

मन्त्रालयले अहिलेसम्म नेपाललाई कुल चार करोड २० लाख ४९ हजार ६४० डोज खोप प्राप्त भएको जनाएको छ।देशभर पछिल्लो २४ घण्टामा थप आठ हजार १७ मा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा २१ हजार ८०८ को नमूना परीक्षण गरिएको थियो। पन्ध्र हजार ७३६ को पीसीआर र छ हजार ७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा पाँच हजार २९२ कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन्। यससँगै संक्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख ३७ हजार चार पुगेको छ।

निको हुने दर ८९ दशमलव एक प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा नौ लाख ३९ हजार २६७ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख २२ हजार ८३८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ।

पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५१ लाख ८५ हजार ७०४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख ४७ हजार ३१७  पुगेको छ। कूलमा सङक्रमण दर १८ दशमलव एक प्रतिशत छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६८७ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ। प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३८४ दशमलव सात रहेको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या ४९ र आइसियुमा २५७ रहेको छ। होम आइसोलेसनमा ८८ हजार ६४२, संस्थागत आइसोलेसनमा एक हजार ९३४ र क्वारेन्टिनमा १४९ जना रहेका छन्।

हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, तनहुँ, बाँके रुपन्देही, दाङ र कैलाली रहेका छन्।

दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा पर्सा, बारा, महोत्तरी, सलार्ही, सिरहा, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत र कञ्चनपुर छन्। शून्य सङ्क्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३८ हजार ८५९, ललितपुर १० हजार ३९० र भक्तपुरमा पाँच हजार ६१४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।