जोर–बिजोर प्रणालीबारे थप छलफल गर्ने सरकारको तयारी

काठमाडौं । कोरोना सङ्क्रमण बढेपछि काठमाडौं उपत्यकामा सार्वजनिक र निजी गाडीमा जोर–बिजोर प्रणाली लागू भएको एक हप्ता पुगेको छ । जोर–बिजोर लागू भएपछि दैनिक गुड्ने गाडीको सङ्ख्या आधाले घटेको छ ।

Advertisement

तर चलेका गाडीमा भिडभाड बढेको छ । विशेषगरी कार्यालय जाने र आउने समयमा चाप बढ्ने गरेको छ । सरकारको निर्णय अव्यावहारिक भएको भन्दै यात्रु र यातायात व्यवसायीले आलोचना गर्दै आएका छन् ।

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भिडभाड कम गर्न अनुरोध गरे पनि यात्रु भने कोचाकोच गरी यात्रा गर्न बाध्य छन् । सिटको क्षमताभन्दा धेरै चढाउने र नियम उल्लङ्घन गर्ने गाडी दैनिक रुपमा कारबाहीमा परेका छन् ।

बिहीबार मात्रै काठमाडौं उपत्यकामा जोर–बिजोर नियम उल्लङ्घन गर्ने ६ सय ८८ गाडी कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुई पाङ्ग्रे ६ सय ९ र चार पाङ्ग्रे ७९ गाडी कारबाहीमा परेका हुन् ।

गृह मन्त्रालयले जोर–बिजोर प्रणाली लागू गर्दा भिडभाड बढेको नागरिकको गुनासो आउन थालेको जनाएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले सङ्क्रमण रोकथामका लागि जोर–बिजोर लागू गरिएको तर भिडभाड र चहलपहल अपेक्षा अनुसार नरोकिएको बताए ।

केही दिनमा निर्णय परिमार्जन हुनसक्ने पनि उनले बताए ।  जोर–बिजोर  प्रणाली हटाउनबारे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तयार देखिए पनि गृह मन्त्रालयले निर्णय गरिसकेको छैन ।

ललितपुरका प्रमख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अन्य क्षेत्रलाई खुला गरेर यातायातमा मात्रै कडाइ गर्दा भिड भएको गुनासो आइरहेको बताए । यसबारे थप छलफलको तयारी भइरहेको उनको भनाइ छ ।