May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

लुम्बिनीमा निर्माण हुँदै गरेको ध्यान केन्द्रको उद्घाटन बुद्ध जयन्तीमा

लुम्बिनीमा निर्माण हुँदै गरेको अन्तरराष्ट्रिय सभाहल तथा ध्यानकेन्द्र आगामी बुद्ध जयन्तीका दिन उद्घाटन गरिने भएको छ । दक्षिण एसियाकै नमूना ध्यानकेन्द्र बन्ने अनुमान गरिएको यो हलमा पाँच हजार जनाले एकै साथ ध्यान गर्न सक्ने क्षमता रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

Advertisement

झन्डै रु ७२ करोडको लागतमा निर्माण हुँदै गरेको यो ध्यानकेन्द्रको निर्माण सम्पन्न गर्ने समयावधि २०७९ असारसम्म भए पनि जेठ २ अर्थात् बुद्ध जयन्तीमा सकिने लुम्बिनी विकास कोषको सूचना शाखाले जानकारी दिएको छ । पहिलो र दोस्रो चरण गरी दुई चरणमा ठेक्का भएको ध्यानकेन्द्रको समग्रमा ८० प्रतिशत काम सकिएको छ ।

आधुनिक र प्रविधिमैत्री नमूना हलमा १६ वटा भाषा अनुवाद हुने अत्याधुनिक प्रविधिसमेत जडान गरिने विकास कोषको सूचना शाखाले जनाएको छ । बुद्धकालिन कला संस्कृति र बुद्धको झल्को दिने आकृतिको बास्तुकलामा निर्माण भइरहेको ध्यानकेन्द्रले लुम्बिनी क्षेत्रको बुद्ध दर्शनको विकाससमेतमा सहयोग पुग्ने बास्तुकलाविद् बताउँछन् । ध्यानकेन्द्रको बाहिरी घेरामा ९७ वटा बुद्धका मूर्ति राखिनासमेतले ध्यानकेन्द्रको आर्कषण बढ्ने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउँनुहुन्छ ।

विस २०७५ वैशाख १७ गते राष्ट्रपती विद्यादेवी भण्डारीद्वारा शिलान्यास भएको ध्यानकेन्द्रको क्षेत्रफल ३८६ दशमलव ८८ वर्गमिटर रहेको छ । अन्तरराष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यानका लागि यो हल निर्माण सम्पन्न भएपछि उपयोगि हुनेछ । सदस्य सचिव शाक्य भन्नुहुन्छ, “दक्षिण एसियामा नै बुद्धकला र संस्कृति झल्किने नमूना र ठुलो ध्यानकेन्द्र यो नै हो ।”

साना र ठुला गरी ५५ ढोका हुने ध्यानकेन्द्रमा बाहिरी भागमा हेलिप्याडसमेत निर्माण गरिने लुम्बिनी विकास कोषका योजना प्रमुख इ. सरोज भट्टराईले बताउनुभयो । ध्यानकेन्द्रको निर्माणसँगै यसको वरिपरीको सुन्दरीकरण, अतिथि भवन, पार्किङ, शौँचालय, पानीको फोहोरा, मुलद्वार निर्माणजस्ता काम तीव्ररूपमा भइरहेका छन् ।

लुम्बिनी, बाबुल र अर्घाखाची जेबी निर्माण कम्पनीद्वारा निर्माण भइरहेको ध्यानकेन्द्रलाई तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्ने र गुणस्तरीय कामलाई प्राथामिकतामा राखिएको निर्माणकर्ता सफिक अहमद खानले जानकारी दिनुभयो । उहाँले लुम्बिनीजस्तो पवित्रस्थलमा निर्माण भइरहेको ध्यानकेन्द्रको गुणस्तमा कुनै प्रकारको कमजोरी नगरिने भन्दै तोकिएको मापदण्डमा काम भइरहेको बताउनुभयो ।