May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

ओमिक्रोनको कहर- माधवनारायण स्वस्थानी व्रतको विधिमात्र पूरा गरिने

यस वर्ष कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोनको प्रकोप बढेका कारण परापूर्वकालदेखि सञ्चालन हुँदै आएको श्री माधवनारायण व्रतको नित्य पूजाआजा एवं धार्मिक विधि मात्र पूरा गरिने भएको छ । भक्तजनलाई कोरोनाबाट बचाउन यसो गर्न लागिएको हो । शालिनदी यातायात प्रालि, बाबा गोकर्णेश्वर प्रालिद्वारा सञ्चालित सार्वजनिक यातायातले जस्तोसुकै अवस्थामा पनि सेवा दिन तयार रहेको जनाएका छन् । यातायातले स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गराएर सेवा सञ्चालन गर्ने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।

Advertisement

ऐतिहासिक, धार्मिक तथा पौराणिक तीर्थस्थल शालिनदीमा श्री माधवनारायण भगवान्को एकमहिने व्रत बस्न साँखु आउने व्रतालुको लगत सङ्कलनको लागि नाम दर्ता एवं स्थान व्यवस्थापन गरिने समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

व्रत सुरु हुनुभन्दा केही दिन अगाडिदेखि नै बसोबासको व्यवस्था गर्न समितिले सहजीकरण गरिरहेको छ । व्रतालुलाई साँखुबाट बाहिर परदेश (पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण स्थान) लाने क्रममा आवश्यक सर सामान ओसार्नका लागि गाडीको व्यवस्था गरिएको छ । बाटोमा हिँड्न आवश्यक सरसहयोग गर्न समितिले नेपाल स्काउट, सक्व क्र्यु, नेपाल रेडक्रस सोसाइटी साँखु उपशाखा, स्वयंसेवक र विभिन्न सङ्घसंस्थासँगको समन्वयमा आवश्यक बन्दोबस्तीका सामानको व्यवस्था गर्ने भएको छ ।

माधवनारायणको दूर दर्शन गराइने

हिँड्नै नसक्ने व्रतालुका लागि स्टेचरको व्यवस्था गरी बोकेर एक ठाउँबाट अर्को ठाउँमा पु¥याउन आवश्यक बन्दोबस्त गरिएको छ । यस वर्ष कोभिड–१९ को ओमिक्रोन भाइरसको प्रकोप बढ्दै गइरहेकाले भक्तजनको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दूर दर्शनको व्यवस्था गरिने भएको छ ।

भक्तजन र व्रतालुबीच कम्तीमा दुई मिटरको दूरी कायम हुनेगरी बारबन्देज गर्ने तयारी भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । व्रतालुसँग पूर्ण खोप लगाइएको कार्डको प्रति लिएर निमोनिया भए/नभएको यकिन गर्न एक्स–रे लिने व्यवस्था गरिएको छ । आवश्यक परे एन्टिजेन परीक्षणको व्यवस्थासमेत समितिले नै गर्ने भएको छ ।

शान्ति सुरक्षासम्बन्धी व्यवस्थापनमा शालिनदी परिसरभित्र विभिन्न ठाउँमा सिसीटिभी क्यामेराको व्यवस्था मिलाइने भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी एवं महानगरीय प्रहरी प्रभाग साँखुअन्तर्गत विशेष प्रहरी टोली परिचालन गर्ने निर्णय गरिएको छ । भक्तजनको सुरक्षाका लागि पर्याप्तमात्रामा मास्क र स्यानिटाइजर वितरण गरिनेछ । स्वयंसेवकका लागि मास्क, स्यानिटाइजर र पञ्जाकोसमेत व्यवस्था गरिने भएको छ । व्रतालुबाट टीका र प्रसाद ग्रहण गर्न चाहने भक्तजनका लागि छुट्टै व्यवस्था गरिने समितिले जनाएको छ । यस वर्ष माघ ३ गतेदेखि माधवनारायण व्रत सुरु हुने समितिले जनाएको छ ।