बढ्दो जोडोमा पर्वको चटारो

पुस महिना सकिदै लाग्दा महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रका किसानलाई तिलासक्रायत पर्वको चटारोले छोपेको छ । पर्व नजिकिँदै जाँदा किसानलाई काम भ्याइनभ्याई भएको हो ।
मिथिलामा माघ सङ्क्रान्तिका दिन तिलासक्रायत पर्व मनाउने परम्परा छ । “पवनी (पर्व)ले छोपी सक्यो, घरको कामकाज सक्न र फसल बजार पु¥याउन भ्याइनभ्याई छ” भङ्गाहा नगरपालिका–४ रामनगरका ४० वर्षीय किसान चन्देश्वर राय दनुवार भन्नुहुन्छ, “अहिले बजार पु¥याउन नसके अलुवा (सुठुनी, सखरखण्ड)को भाउ सङ्क्रान्तिपछि खस्छ ।” मिथिलामा यस पर्वमा अलुवा, तरुल र पिँडालुजस्ता कन्दमूल उसिनेर खाने÷ख्वाउने परम्पराले सङ्क्रान्तिअघि यी उत्पादनले राम्रो बजार पाउने गरेका छन् ।
मात्र एक कठ्ठा क्षेत्रफलमा लगाइएको अलुवाबाट सङ्क्रान्तिअघि बजार पु¥याउनसके रू १० हजार हाराहारी आम्दानी गर्न सकिने दनुवारको भनाइ छ । पुस मसान्तभित्रै पर्व विशेषका उत्पादन बजार पु¥याउन नसके सोचेको आम्दानी पाउन नसकिने यहाँका किसान बताउछन् ।पर्वमा सख्खर, तिल, चिउरा, मास, जुनेलो (अन्नविशेष) र तरुवा खाइने तरकारी विशेषको खुबै माग हुन्छ । पर्वमा सख्खरको खुँदोमा मिसाएर बनाइने तिल, चिउरा, मुरी र जुनेलोको (लड्डु) खाने/ख्वाइने गरिन्छ ।

Advertisement

त्यसैगरी कोभी, भाण्टा, हरियो केरा, आलु, परवल र लौकीको तरुवा खाने प्रचलनले यी बस्तुको भाउ अहिले ह्वात्तै बढेको छ । पर्वका लागि आफ्नै घरको तयारी र पर्वअघि नै यी फसल बजार पु¥याउनै पर्ने चटारोले अहिले सास फेर्ने फुर्सत पनि नभएको बलवा नगरपालिका–१० धमौराका किसान वासुदेव पासवान बताउनुहुन्छ ।

पछिल्ला केही दिनयता फेरि कोरोना सङ्क्रमणको सन्त्रास बढ्दै गएपछि अब बजार जाने कुरामा पनि चिन्ता थपिएको छ । पर्वकै अवसरमा उखु किसान धमाधम उखु पेल्ने र खुँदो पकाएर मिठ्ठा (सख्खर) बनाउने काममा तल्लिन छन् । “हेर्नोस् न पुस निगल्दोको मुटु छिचोल्ने जाडो छ, तर के गरौँ समयले पर्खदैन, अहिले जाँगर नचलाए जहान परिवारको मुखमा माड लाग्दैन” मिठ्ठा बनाउन ठूलो भठ्ठी चुलोमा खुँदो उमाल्न व्यस्त बर्दिबास–६ प्रेमनगरका किसान रामकृपाल महतो भन्नुहुन्छ । उखु फसलबाट हुने आम्दानीले वर्षभरिको खाने अन्नको जोहो गर्नुपर्दा अहिले मिठ्ठाले राम्रो भाउ पाउने बेला जाडो नभनी काममा जोतिनु परेको उहाँको भनाइ छ ।

पर्वमा मासको दाल मिसाइएको खिचडी खाइने चलनले मास किन्ने÷बेच्नेको पनि यहाँका बजारमा भीड देखिन थालेको छ । तिलखेती गर्ने किसानले पनि पर्व विशेषमा आफ्नो फसलबाट राम्रो आम्दानी लिने गरेका छन् । मिथिलामा सबै जातजाति र समुदायले तिलासक्रायत पर्व मन खोेलेर मनाउने गर्छन् । यहाँका थारु समुदायको त यो मुख्य पर्व नै हुँदा एक महिना पहिलेदेखि नै तयारी थालिन्छ । यस्ता पर्वमा थारु समुदायमा मासु अनिवार्य परिकारमा पर्ने हुँदा आफ्नो सावगासअनुसार यसको जोहो गर्न केही पहिलेदेखि नै थारुहरुको व्यस्तता बढ्ने गरेको हो ।
तिलासक्रायत पर्वपछि यसको सनेस (कोसेली) पठाउने मिथिलामा आम चलन छ । विवाह भएका छोरी/चेली (फपू, दिदीबहिनी र छोरीभतिजी) मित/मितिनी र नजिकको इष्टमित्रकहाँ परिकार पु¥याइने परम्पराले यो पर्व भेटघाटको खास अवसर पनि बन्ने गरेको पाका मैथिल बताउँछन् ।