May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

५० ग्राम ब्राउनसुगरसहित युवा पक्राउ

झापाको मेचीनगर–६ स्थित मेची भन्सार कार्यालय गेट अगाडिबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज दिउँसो एक युवा पक्राउ गरेको छ । पाँचथर फागुनन्द गाउँपालिका–३ गुफाडाँडाका २६ वर्षीय राकेश तामाङलाई प्रहरीले ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्दा उनको साथबाट प्लाष्टिकमा पोको पारिएको अवस्थामा ब्राउनसुगर बरामद गरेको थियो । पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement